तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद् , नाएर र नेपाल अस्ट्रेलिया अल्मुनाइ संघ को सयुक्त्त आयोजना घर फर्क अभियान सञ्चालन गरियो । भिजिट नेपाल २०२० लाई लक्ष्य गरेर एनआरएनले यो अभियान सञ्चालन गरेको हो । कार्यक्रम एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुङको अध्यक्षतामा सुरु भयो । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल प्रमुख अतिथि थिए । विशेष अतिथि नेपाल अस्ट्रेलिया अल्मुनाइ संघका अध्यक्ष डा. रामहरि अर्याल, पूर्वअध्यक्ष प्रा.डा. दामोदर पोखरेल रहेका थिए । डा. अर्याल नेपाल सरकारको पूर्वसचिव हुन् भने प्रा. डा. पोखरेल ओपनहर्ट सर्जन हुन् । अस्ट्रेलियाबाट डक्टर उपाधि लिएपछि अर्याल नेपाल फर्किएका थिए । उनी नीति निर्माण तहमा काम गर्छन् । अब नेपाल फर्कदा राम्रो हुन्छ भन्ने कुरा कार्यक्रममा राखेका थिए । कार्यक्रममा महावाणिज्यदूत दीपक खड्का, एनआरएनए उपाध्यक्ष मन केसी, पूर्वप्रवक्ता रञ्जु वाग्लेको उपस्थिति थियो ।
कार्यक्रमका स्वागत मन्तव्य एनआरएनए महासचिव डा. ज्ञानेन्द्र रेग्मीले दिएका थिए । एनआरएए एनएसडब्लुका सचिव दिपक पहारीले कार्यक्रम सञ्चालन गरेका थिए । सिड्नीको पिट स्ट्रिटमा आयोजित कार्यक्रममा एनआरएनए ओसियाना संयोजक होम पाण्डेले यो अभियान एकदमै प्रभावकारी भएको बताएका थिए । यो अभियानमा एनआरएनले सहकार्य गर्दा एकदमै राम्रो हुने बताएका थिए । भौतिक रुपमा मानिस उपस्थित नभए पनि ज्ञान हामीले सेयर गर्न सकिनै भन्दै संयोजक पाण्डेले भने, ‘ज्ञान सेयर गरेर नेपालको विकासमा हामीले टेवा पु-याउन सक्छौं ।’

कार्यक्रममा एक्काका अध्यक्ष पिआर अधिकारीले भने, ‘एनआरएनलगायतले यस्ता कार्यक्रम गरोस्, हामी सधैं सहयोग गर्न तयार छौं ।’ घर फर्का अभियानको विज्ञापन गरेर व्यापक बनाउनुपर्ने उनको भनाइ थियो । एनआरएन विज्ञान श्रेष्ठले यो अभियानलाई एक साथ अघि बढाउन जोड दिए ।
राजदूत महेशराज दाहालले नेपालमा स्थिर सरकार भएकाले धेरै परिवर्तन भइसकेको छ, कति कुरा परिवर्तनको पाइपलाइनमा छ । परिवर्तन हुन केही समय लाग्छ, तर असम्भव भने छैन । राजदूत दाहाले भने, ‘सकरात्मक सोच राख्ने हो भने सबै काम हुँदै गइरहेको छ ।’
एनआरएनए अस्ट्रेलिया नारी निकुञ्जकी सचिव स्वीकृति भट्टले अस्ट्रेलियामा भएको हाम्रो परिवार कसरी जाने भन्ने प्रश्न राखेकी थिइन् । उनको जिज्ञासाको जवाफ प्रा.डा. पोखरेलले दिएका थिए । उनले भने, ‘सुरुका दिनमा केही संघर्ष गर्नुपर्छ, तर संघर्षका दिन सकिएपछि बालबालिकाहरु पनि नेपालमा एडजस्ट हुन्छन् । नेपालमा धेरै राम्रा स्कुलहरु छन्, पढाइ पनि राम्रो हुन्छ, तरका केही समय संघर्षमय हुन्छन् ।’ प्रशासनिक झन्झट र मानिसको सोचका कुराले एडजस्ट हुन केही समय लाग्ने उनले बताए ।
नेपालमा गएर व्यावसाय सुरु गर्दा प्रशासनिक झन्झट एकदमै छ नि भन्ने सरोज पाण्डेको प्रश्नमा डा. रामहरि अर्यालको जवाफ थियो– नेपालमा घुस खाने र दिन काम एकदमै न्यून भएको छ । घुस लिने मात्र होइन, दिनेलाई पनि कारबाही हुनुपर्छ । सामाजिक सञ्जालले गर्दा घुस लिने दिने काम एकदमै न्युन हुँदै गएको छ । व्यवसाय गर्ने लाइसेन्स डिजिटल हुने भएकाले घुस लिनदेन हुँदैन । तपाईंहरुको काम पनि अब झन्झटिलो नहोला भन्ने जवाफ डा. अर्यालले दिए ।
एनएनआरएन उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले घर फर्क अभियान कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको र यो अभियानलाई एनआरएनए अस्ट्रेलियाले अनुगमन गरीरहने बताए । कार्यक्रम एकदमै व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनको भनाइ थियो । एनआरएनए उपाध्यक्ष मन केसीले यस्ता कार्यक्रमलाई एनआरएन ग्लोबलले सधैं सहयोग गर्ने बताए ।






