बेलायतमा नेपाली राजदूत सुवेदीलाई ‘कैदीको पत्र’ मा देख्न पाईने

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ मा अभिनय गरेका छन् । उक्त कुरा महामहिम राजदूत डा. सुवेदीले गत आइतबार १७ नोभेम्बरका साँझ अल्डरसटमा सम्पन्न नेपाल चलचित्र कलाकार संघको पहिलो साधारणसभामा प्रमुख अतिथिको आशनबाट मन्तब्यको क्रममा उक्त चलचित्रमा आफुले अभिनय गरेको बताएका हुन् ।

सो अवसरमा दुबसुको साहित्यक नामले परिचित डा. सुवेदीलाई उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले मानर्थ सदस्यता समेत प्रदान गरेका थिए । डा. सुवेदीले पाठकहरु माँझ आफ्ना थुप्रै कृतिहरु पस्किसकेका छन् । थुप्रै नाटक, फिल्म र रंगमंचमा अभिनय तथा निर्देशन गरिसकेका बेलायतवासी नेपाली सनम कुमार वैरागको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको स्क्रिप्ट हेरेपछि आफुलाई अभिनय गर्न मन लागेको बताए ।

साहित्यकार ईश्वर मानान्धरको ‘कैदीको पत्र’ नामक कथा संग्रहमा आधारित चलचित्रको छायांकन पुरा भैसकेको निर्देशक समन कुमार वैरागले जानकारी दिए । उनका अनुसार बेलायतवासी नेपाली र स्थानीयहरुले अभिनय गरेको उक्त चलचित्र सन् २०२० को जनवरीको अन्तिमतिर प्रर्दशनमा आउने छ । स्कटल्याण्डको इडनबरो र ग्लास्कोमा छायांकन गरिएको चलचित्रको पथकथा, संवाद र निर्देशन वैरागले गरेका छन् । जुलाई २६ देखि अगष्ट ३ सम्म ४० दिनमा नै छायांकन सकिएर पोष्ट प्रोडक्सनमा रहेको उक्त चलचित्रको कोरियोग्राफी, फाईट, मेकअप लगायत प्राविधिक पक्ष भने नेपालबाट झिकाइएको निर्देशक वैरागले बताए ।

बेलायतवासी नेपालीहरु दिल घले, कैलाश किस, हिरल जोशीको लगानी गरेको उक्त चलचित्रको सम्वाद नेपाली र अंग्रेजी दुवै भाषा मिश्रित रहेको छ । पछिल्लो समय बेलायतमा बसोबास गर्ने नेपालीहरुले पनि चलचित्र निर्माण गर्ने क्रम बढ्दै आएको छ भने बेलायतबाट पनि नयाँ पुस्ताका श्रृष्टि श्रेष्ठ, जसिता गुरुङ, मिरुना मगर, धिरज मगर लगायत नेपाली कलाकारहरु कलिउडमा जम्न थालेका छन् ।

को हुन् त कैदीको पत्रका निर्देशक वैराग ?

नाट्यश्वर कला निकेतनबाट नृत्य र आभाषबाट फिल्म निर्देशनको अध्ययन गरेका निर्देशक वैरागले सन् १९९७ मा फ्रान्सेली साँस्कृतिक केन्द्र नेपालबाट छात्रवृत्ति प्राप्त गरी फ्रान्समा नाटक सम्बन्धी कार्यशालामा सरिक भई अध्ययन गर्ने सुअवसर प्राप्त गरेका थिए । नेपालमै ऐतिहासिक नाटक अजात शत्रु, उदम्बरा, बौधिसत्व, कालो रगत, पिपल बोट, एक अन्तकारी, विश्वको अधुरो उपन्यास, इतिहासको पाना पल्टिसकेको छ, सम्हार हैन सम्भार गरौं, टिभीकी र एमटिभी जस्ता थुप्रै नाटकहरुको लेखन तथा निर्देशन गरिसकेका छन् ।

सन् १९९९ देखि बेलायत बस्दै आएका बैरागले सन् २०१६ मा नेपालमा गएको महाभूकम्पमा आधारित समय दृश्य, २०१७ मा दस बर्षे जनयुद्ध सम्बन्धि नाटक जीगिषा र २०१८ ऐतिहासिक नाटक भिमसेन थापा लण्डनमा प्रर्दशन गरिसकेका छन् । रंगमञ्चको लामो अनुभव भएका वैरागले साहित्यकार ईश्वर मानन्धरको कथा कैदीको पत्रको कथामा आधारित नेपाली चलचित्र निर्माण गरेका हुन्।

एभरेष्ट टाईम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *