३० फागुन, काठमाडौं । एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले अबको आन्दोलन आम हडतालसम्म जाने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने-‘कांग्रेस र एमालेको पुच्छर समातेर जानु भन्दा संघर्षका उपलब्धि रक्षा गर्न आन्दोलनमा जानैपर्छ । आन्दोलन हाम्रो बाध्यता हो ।’
कांग्रेसलाई पार्टीको महाधिवेशन लागेको र त्यसमा सत्ता साझेदार एमालेको साथ रहेको भन्दै उनले दुबै दल कांग्रेसको महाधिवेशनसम्मसंविधान बनाउने पक्षमा नरहेको रायमाझीले दावी गरे ।
एमाओवादी नेता रायमाझीले ७५ जिल्ला समेटेर राजनीति गर्नुपर्ने नेताहरु शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, केपी ओली र कृष्ण सिटौला पाँच जिल्लामा अडकिएको आरोप लगाए ।
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले फागुन १६ गतेको आमसभाबाट आन्दोलनको घोषणा नगरेर एमाओवादीले धोका दिएको आरोप लगाए । चैत १ गते पनि ३० दलीय मोर्चाले आन्दोलन घोषणा नगरे मधेसी मोर्चाले छुट्टै आन्दोलन घोषणा गर्नु पर्ने उनले बताए ।






