तक्दीर अधिकारी
काठमाडौं । ठूलै रस्साकस्सीपछि एनआरएनए नयाँ नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार २३ सय ४४ मत खसेको छ । साँझ ६ बजे सम्पन्न मतदानमा मध्यमपूर्वबाट ४ सय ७०, एसिया प्यासिफिकबाट ४ सय ६०, अफ्रिकाबाट १६, ओसियानाबाट २ सय १४, अमेरिकाबाट २ सय ६१ र यूरोपबाट ९ सय २० मत खसेको थियो । मतदान सम्पन्न भएपछि दुवै पक्ष जित्नेमा आशावादी देखिएका छन् । यद्यपि मतगणना साँझ ७ बजेबाट सुरु हुँदैछ । राति १२ बजेसम्म सम्पूर्ण परिणाम आइसक्नु अनुमान गरिएको छ ।

प्राविधिक समस्या आएपछि हिजो बिहीबार विद्युतीय मतदान रद्द गरी बुधबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो । हिजो भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्ये २ वटाले मात्रै काम गरेको थियो। त्यसपछि कागजी प्रक्रियाबाट मतदान सुरु हुन थालेको हो । तर नियतबस मतदान स्थगित भएको भन्दै मतदाताले घण्टौँसम्म नाराबाजी गर्दै आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए । केहीले निर्वाचन बहिष्कार गरेको घोषणा गरेपछि आयोजकलाई तनाव बनाएका थिए ।








