गोर्खाहरुद्धारा बेलायतको संसद भवन अगाडी विशाल प्रर्दशन:माग पूरा नभएसम्म अनशन नतोड्ने(फोटोफिचर)

शिब भण्डारी
लण्डन । १३ दिनदेखि भोक हड्तालमा रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समर्थनमा बेलायतको लण्डनस्थित संसद भवन अगाडी विशाल प्रर्दशन भएको छ ।
भोक हड्तालमा रहेका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेको समर्थनमा ऐक्यवद्धता जनाउन र सरकारको दबाब बढाउन भुपु गोर्खालीहरुले प्रदर्शन गरेका हुन् । समानताको माग राख्दै आएका भूतपुर्व गोर्खा सैनिकहरुले बुधवार बेलायतको संसदहरुको ध्यानकर्षण र दवाव दिने उद्देश्यले संसद भवन अगाडी प्रर्दशन गरेको हो ।
संसद सुचारु हुने समयमा सबै सांसदहरुको जानकारी र ध्यानाकर्षण गराउन प्रर्दशन गरिएको थियो । गोर्खा सत्याग्रह संघर्ष संयुक्त समितिको आयोजनामा गोर्खाहरुले ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने माग राख्दै विरोधको कार्यक्रम गर्दै आएको छ ।
प्रदर्शनमा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खाली सैनिक विभेदको शिकार भएको बताए । संयोजक राईले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सदन र सडकमा यी विषयहरु उठाइदिन माग गरे । राईले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे सामुहिक आमरण अनसन बस्ने समेत चेतावनी दिए ।
बेलायत सरकारले बार्ता कमिटि गठन गरेर नेपाल सरकारसंग वार्ताको प्रक्रिया बढाए आमरण अनशन तोडने संयोजक राईले बताए । तर विश्वस्त हुने खालेको हुनुपर्छ, टार्ने खालको हुनुहुदैन, संयोजक राईले भने ।
यता १३ दिनदेखि अनशनमा बसेका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धन गुरुङलाई स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पताल समेत भर्ना भएका थिए । यद्यपि उनको स्वास्थ्यमा केही सुधार आएपछि बुधवारदेखि उनी पुनः अनशनमा बसिरहेका छन्।
यता बेलायत सरकारलाई विभिन्न संघसंस्थाहरुले गोर्खाहरुको माग सम्बोधन गर्न दबाब बढाउँदै गएका छन् । तरपनि सरकारले हालसम्म कुनै पहल कदमी लिएको छैन।