बेलायती राजदूत निकोला पोलिट लाई ब्रिटेन नेपाल च्याम्बरअफ कमर्सले गर्यो-भब्य स्वागत (फोटो फिचर)

शिब भण्डारी

लन्डन । नेपालका लागि बेलायती नवनियुक्त राजदूत निकोला पोलिटको सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सले स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कार्यभार सम्हाल्न नेपाल जान लागेकी बेलायती राजदूत निकोला पोलिटसंग लन्डनमा अन्तरक्रिया एबम स्वागत कार्यक्रम गरेको हो ।

नेपालका लागि पहिलो महिला बेलायती राजदूतसंग बिएनसीसीले बुधबार साँझ लन्डनस्थित होलिडे इनमा कार्यक्रम गरेको हो ।

अध्यक्ष डा. कपिल रिजाल र उपाध्यक्ष बिराज भट्टले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै राजदूत निकोलाको ‘कुटनीतिक करिअर’ तथा जीवनीबारे परिचय दिएका थिए । उनीहरुले राजदूतको कार्यकाल सफलताको शुभकामना पनि दिए । बेलायती-नेपाली व्यवसायी तथा मिडियाहरुले खचाखच भरिएको हलमा राजदूत पोलिटले बेलायत नेपाल सम्बन्धबारे चर्चा गर्दै नेपालमा गएर काम गर्न उत्साहित भएको बताइन् । बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन आफूले सक्दो भूमिका खेल्ने उनले उल्लेख गरेकी थिइन् । पोलिटले नेपाल जानुपूर्व आफ्नो सम्मानमा कार्यक्रम गरेकामा बिएनसीसीप्रति आभार प्रकट गरिन् ।

Nicola Pollit

उक्त कार्यक्रममा बेलायतीसहित नेपाली व्यवसायीहरु राजन कंडेल, दीपक श्रेष्ठ, बीपी खनाल, सपनकुमार राई, ओजेश सिंह, सन्तोष मण्डल, जीवन सेन लगायतको उपस्थिति थियो । डा. कपिल रिजालको अध्यक्षतामा नयां कार्यसमिति चयन भएसंगै बिएनसीसीले विविध कार्यक्रम गरेर बेलायती तथा नेपाली डायस्पोरामा पृथक प्रभाव छाडेको छ । उपाध्यक्ष बिराज भट्टका अनुसार, बिएनसीसीले आउंदो वर्ष नेपालमा व्यापार तथा लगानी प्रवर्धनका लागि श्रृंखलावद्ध कार्यक्रम गर्ने तयारी गरेको छ ।

बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेसनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया गर्ने संस्थाको प्रतिवद्धता छ । को हुन् पोलिट ? नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । २०० वर्ष भन्दा लामो नेपाल ब्रिटेन सम्बन्धमा ब्रिटिश राजदूतको रुपमा नियुक्त उनी पहिलो महिला हुन् ।

नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिसको कार्यावधि पुरा हुनै लाग्दा उनलाई नयां राजदूत नियुक्त गरिएको थियो । पोलिटले यही नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने छिन् । गत दुई वर्ष देखि ब्रिटिश विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी पोलिटले सन् २०१४ देखि २०१६ सम्म ब्रिटिश प्रधानमन्त्रीको सहायक निजी सचिवको रुपमा काम गरेकी थिइन् ।

निकोला पोलिट त्यसअघि ब्रिटेनको मन्त्रिपरिषदमा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरिसकेकी उनले काबुल तथा ओस्लोमा पनि कूटनीतिज्ञको रुपमा काम गरेकी थिइन् । पोलिट नेपालसंग अपरिचित होइनन् । उनले विद्यार्थी छंदा नै अन्नपूर्ण सर्किटमा तीन साता लामो पदयात्रा गरेकी थिइन् । राजदूत नियुक्तिपछि हालैमात्र उनी तीन साता नेपाल भ्रमण गरेर फर्किएकी हुन् । उनले ९ महिनायता नेपाली भाषा सिकिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *