एनआरएनएको अध्यक्षमा पन्त र महासचिवमा शर्मा निर्वाचित

तक्दीर अधिकारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । पन्तका प्रतिस्पर्धी कुल आचार्य थोरै मतले पछि पर्नु भयो । उपाध्यक्षमा बद्री केसी, मन केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । महिला उपाध्यक्षमा रविना थापा, सचिवमा गौरीराज जोशी र अभिमानसिंह बस्नेत, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल तथा महिला संयोजकमा भूमा लिम्बू विजयी भएका छन् ।

उपाध्यक्षमा मन केसी र महिला उपाध्यक्ष रविना थापा, सचिवका दुवै उम्मेदवार तथा कोषाध्यक्ष आचार्य समूहका हुन् । अध्यक्ष, महासचिव र तीन उपाध्यक्ष पन्त समूहका हुन् । हिजो बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए ।

एनआरएनएको अध्यक्षमा निर्वाचित गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत हुनुहुन्छ । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष हुनुहुन्थ्यो । पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गर्नु भएको थियो । उहाँले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *