काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई भत्काउन केही प्रतिक्रियावादी शक्तिहरु लागि परेकाले सर्तक रहनुपर्ने बताएका छन् ।
जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्वाराहीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ र मौलिक ढंगले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढेको सामन्ती तथा प्रतिक्रियावादी शक्तिहरुलाई चित्त नबुझेकाले उनीहरु नेकपाको एकता र नेकपाको सरकारलाई भत्काउन प्रयासरत रहेकाले त्यसतर्फ सचेत रहनुपर्ने अवस्था आएको औल्याएका हुन् ।

‘संसारमा कम्युनिष्टहरु रक्षात्मक भएका बेला नेपालमा लोकतान्त्रिक ढंगले आक्रामक भएका छन्, यो देखेर कतिपयलाई आश्चर्य लागेको छ । उनीहरु षड्यन्त्र गरेर यो पार्टीलाई कमजोर पार्ने अभ्यास भइरहेका छन् । हामी सबैले हेक्का राख्नुपर्छ’ उनले भने, ‘वैचारिक, राजनीतिक र सांस्कृतिक रुपमा एक भएर जाने संकल्प गर्नुपर्छ ।’

प्रचण्डले जनताको आन्दोलनको बलमा बनेको पार्टीलाई एकढिक्का राख्न सवैले संकल्प गर्नुपर्ने बताए ।

सहिद तथा सहिद परिवारप्रति सम्मान प्रकट गर्दै नेपालमा युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरेर र राजनीतिक धु्रवीकरणलाई पनि नयाँ तरङ्गमा पुर्याएर पार्टी एकभएपछि पहिलो पटक भएको कार्यक्रम आफैँमा अर्थपूर्ण भएको बताए ।

उनले विगत तीन दशकको अवधिमा नेपालमा दुई कम्युनिष्ट धाराको जन्म भएको भन्दै एकले शान्तिपूर्ण संसदीय अभ्यास र अर्कोले जनयुद्धका रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रयोग भएको स्मरण गरे ।

विगतमा कम्युनिष्ट आन्दोलनका क्रममा यी दुई धाराले एकले अर्कोलाई समाप्त पार्ने प्रयासहरु समेत भएको भन्दै उनले वस्तुगत आवाश्यकताले दुवै धाराको निष्कर्षका साथ शान्ति सम्झौता,संविधान निर्माणतर्फ डोहोर्याएको बताए ।

उनले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रुपले मुलुकलाई अघि बढाउने लोकप्रिय नेतालाई सम्झेर गर्व गर्नुपर्ने बताए ।

‘कमरेड मदन भण्डारीको स्मृतिसभाकै दिन पाटी एक गरौँ भनेर हामीले छलफलपछि एकता घोषणा पनि गर्यौ’ प्रचण्डले भने ।

उनले फागुन १ र जेठ ३ को स्मरण गर्दा राजनीतिक एकतासँगै भावनात्मक, गुणात्मक र सांस्कृतिक एकताका रुपमा पनि लिनुपर्ने बताए ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसहितको सहमतिमा कार्यक्रम राखिएको भन्दै सरकारको एक वर्षको कार्यक्रमले मात्रै उनी सहभागी हुन नसकेको प्रष्टीकरण दिए ।
उनले एकताको आधार बनेको भन्दै कताकता एकताबारे उब्जेका चिन्तालाई यो कार्यक्रमले सम्बोधन गर्ने बताए ।

‘हामीलाई छिटो पार्टी एकता र जनसंगठन टुङ्ग्याएर जाने प्रेरणा र ऊर्जा प्राप्त भएको छ’ प्रचण्डले भने ।

उनले समाजवाद उन्मुख राज्यनिर्माण गर्नेतर्फ उन्मुख भएको दावी गर्दै विगतका क्रान्तिका लेखाजोखा गरेर समाजवाद उन्मुख नयाँ मोडेल प्रस्तुत गर्ने आफूहरुको तयारी रहेको बताए ।
उनले संसारका सवैखाले शक्तिहरुले नेपालबारे तिखो आँखाले हेर्नुपर्ने अवस्था सिर्जना गरेकोमा गौरव लागेको पनि बताए ।

उनले मानिसहरुले कल्पना नगरेको भन्दा नयाँ ढंगले राजनीतिक परिवर्तनका लागि काम गरेको भन्दै पछिल्लो समय झण्डै दुई तिहाईको सरकार बन्नसक्नु पनि त्यसैको परिणाम भएको बताए ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै जनआन्दोलन र जनयुद्धकै माध्यमबाट आजको परिवर्तन सम्भव भएको बताए ।

उनले जनआन्दोलन र जनयुद्धको माध्यमबाट मुलुकमा आज समाबेशी संविधान निर्माण भएको तथा असमानता र विभेदलाई हटाउने प्रयासमा लागेको बताए ।

‘आज जेजे उपलव्धिहरु प्राप्त भएका छन् ती उपलव्धिहरुको पृष्ठभूमिमा सहिदहरुको स्वभाविक योगदान छ । उहाँहरुको बलिदानपछि हामीले यो उपलव्धि प्राप्त गरेका छौं । संविधानमा अंकित गरिएका जनताका अभिभारा कार्यान्वयन गर्नुपर्ने बाँकी नै छ’ श्रद्धान्जली सभालाई सम्बोधन गर्दै महासचिव पौडेलले भने ।
तत्कलीन माओवादीले गरेको जनयुद्धको सम्झनामा नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजना ‘जनआन्दोलन र जनयुद्धका महान सहिदहरुप्रति श्रद्धान्जली’ नाम दिएको उक्त कार्यक्रममा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेका थिए ।
अध्यक्ष प्रचण्डसहित महासचिव विषणु पौडेल र बामदेव गौतम सहभागी बनेपनि अध्यक्ष केपी ओलीसहित, नेताहरु माधव नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल लगायतका नेताहरु सहभागी नभएका हुन् ।

फेसबुक कमेन्ट