तक्दीर अधिकारी
काठमाडौं । प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन परम्परागतरुपमा सुरु हुने भएको छ । बुधबार निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको जानकारी निर्वाचन समितिका आयुक्त शिव आचार्यले दिएका थिए ।
भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्ये २ वटाले मात्रै काम गरेको थियो। त्यसपछि कागजी प्रक्रियाबाट मतदान सुरु हुन थालेको हो । तर नियतबस मतदान स्थगित भएको भन्दै मतदाताले घण्टौँसम्म नाराबाजी गर्दै आयोजकप्रति आक्रोश व्यक्त गरेका थिए । केहीले निर्वाचन बहिष्कार गरेको घोषणा गरेपछि आयोजकलाई तनाव भएको थियो ।
यता, सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन । केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्वोरोध निर्वाचित भएका हुन । ४२ पदको लागि निर्वाचन गर्न थालिएकोमा ११ पदमा निर्विरोध भएको छ भने एक पदमा उम्मेदवारी नै परकेो छैन ।
यस हिसाबले अब ३० पदको लागि निर्वाचन हुनेछ । निर्विरोध निर्वाचित हुनेमा युरोपबाट क्षेत्रीय युवा संयोजकमा टंककुमार ठाकुर, युरोपबाट नै क्षेत्रीय महिला संयोजक कुमारीयोगीता थापा, क्षेत्रीय युवा संयोजक ओसेनियाबाट जानकी पौडेल, क्षेत्रीय युवा संयोजक मध्यपूर्व बाट राजु रेग्मी निर्वाचित भएका छन ।
त्यस्तै क्षेत्रीय महिला संयोजक मध्यपूर्व सुमित्रादेवी पौडेल, क्षेत्रीय उपसंयोकज मध्यपूर्वबाट राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ, क्षेत्रीय संयोजक मध्यपूर्वबाट प्रविन गुरुङ, क्षेत्रीय युवा संयोजक अमेरिकाज्बाट विमल सापकोटा, क्षेत्रीय महिला संयोजक अफ्रिकाबाट मनकला विष्ट र क्षेत्रीय संयोजक अफ्रिकाबाट रोशन थापा निर्विरोध निर्वाचित भएका छन । सम्मवन्धित कोटमा भन्दा धेरै उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन ।






