राष्ट्रपतिसँग देउवा र पौडेलको भेट

राष्ट्रपति डा रामवरण यादवसँग नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयासमा भएको प्रगति र मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर उहाँहरूबीच छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति डा यादवले मुलुुकको राजनीतिक परिवर्तनका लागि सहयात्रा गरेका सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान जारी गर्ने प्रयासमा लाग्न नेताहरूलाई सुझाव दिनुभएको थियो ।
त्यस अवसरमा नेताद्वयले नयाँ संविधानका अन्तरवस्तुमा देखिएका विवाद सुल्झाउने सम्बन्धमा एनेकपा (माओवादी)सहितका दलहरूसँग वार्ता संवादका आधारमा सहमति खोज्ने र प्रक्रिया दुवैलाई सँगसँगै लैजाने क्रममा हालसम्म भएका प्रगतिका बारेमा राष्ट्रपति डा यादवलाई जानकारी गराउनुभएको थियो ।
वार्तापछि बाहिरिने क्रममा उपसभापति पौडेलले सहमतिका लागि एनेकपा (माओवादी) लगायतका दलहरूलाई वार्ताका लागि पटक पटक आह्वान गरिएकोबारे जानकारी गराउनुका साथै सहमतिका नाममा संविधान आउनै नसक्ने पाटोलाई अन्त्य गर्न प्रक्रियाको थालनी गरेकोबारे राष्ट्रपतिलाई जानकारी गराएको बताउनुभएको थियो ।