भक्तपुर बालकोटमा आगलागी

भक्तपुरको बालकोटमा कपास कारखानामा भएको आगलागीमा ३५ लाख रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ । अनन्तलिंगेश्वर नगरपालिका–३, बालकोटका जीतबहादुर खड्काले तीन रोपनी जग्गामा सञ्चालन गरेको कारखानामा आगलागी भएको हो । गएराति ९ बजेदेखि लागेको आगो नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दाको प्रयासमा झन्डै ६ घण्टापछि निभाएका थिए । कारखाना सन्चालक खड्काले १५ लाखको मेसिनसहित ३५ लाख रुपैयाँ बराबर क्षति भएको जानकारी दिनुभयो । कारखानाभित्रका कपडा, कपास र मेसिन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण संकलनको काम भैरहेको जानकारी दिएको छ ।
यसैबीच, आगो निभाउन बालकोट जानेक्रममा दमकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । महांकालबाट पानी लिएर बालकोट जाँदै गरेको दमकल कोटेश्वरमा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा काठमाडौं नैकापका २३ वर्षीय रञ्जित श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ खानेपानी कार्यालय महांकाल शाखाका कर्मचारी भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घटनामा प्रहरी जवान सुरेन्द्र परियार, दीपक अवस्थी र सुजन दर्शनधारी घाइते भएका छन् । उनीहरुको प्रहरी अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।