लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आपतकालीन कोष स्थापनार्थ गर्न लागेको च्यारिटी कार्यक्रम आज शनिबार साझ आयोजना हुंदैछ ।
एनआरएन यूके च्यारिटी विभागको संयोजनमा अल्डरसटको एम्पायर हलमा हुन लागेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नेपाली तथा गैरनेपाली बक्सरहरुको सहभागितामा विशेष बक्सिंग शो पनि हुंदैछ ।
कार्यक्रममा टिकट बिक्रीका अलावा विभिन्न सामग्रीको अक्सन, प्रायोजक तथा सहयोगदाताबाट सहयोग लगायतबाट कोष जुटाउने योजना छ । बिहिबारसम्म ३० हजार पाउण्ड बढि रकम संकलन भइसकेको कार्यक्रमका संयोजक, एनआरएन यूके उपाध्यक्ष तथा च्यारिटी विभाग प्रमुख प्रेम गाहा मगरले बताएका छन् ।
२० हजार पाउण्ड टिकट बिक्रीबाट तथा बांकी रकम विभिन्न सहयोगदाताबाट सहयोग भएको हो । यसमध्ये केहि रकम खातामा आइसकेको छ भने प्रतिबद्धता आएको अरु रकम उठ्न बांकी छ । कार्यक्रमको अनुमानित लागत १६ देखि २० हजार पाउण्डसम्म छ भने कुल ४० देखि ५० हजार पाउण्डसम्मकोे लक्ष्यमा कोष जुटाउने योजना बनाइएको छ ।
कार्यक्रमका संयोजक गाहा मगरले कार्यक्रमबाट २० देखि ३० हजार पाउण्डसम्मको कोष बचत गर्ने लक्ष्य राखिएको बताएका छन् । ‘हामीले स्थापना गर्न चाहेको आपतकालीन कोष बेलायत र नेपाल दुवै देशको लागि हो’, संयोजक गाहा मगर भन्छन्, ‘नेपालमा विभिन्न दैवीप्रकोप, आपत विपतमा परेकाहरुलाईदेखि बेलायतमा पनि विभिन्न समस्यामा परेका बेला नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य छ ।’ विगतमा नेपालमा तथा बेलायती सेनामा समेत बक्सर रहेका संयोजक गाहा मगरले बक्सिंग शोमार्फत कोष संकलनका अलावा नयां प्रतिभाहरुलाई हौसला प्रदान गर्ने प्रयास गरिएको बताए ।
कार्यक्रममा सहभागी हुन केहि अन्तर्राष्ट्रिय स्तरका बेलायती बक्सरहरु पनि आउंदैछन् । वल्र्ड फोर्थ टप बक्सर जोन राइडर, एबिए बक्सिंग फाइनालिस्ट अलान साउथवीक, एबिए च्याम्पियन कोनी, बेलायतका नम्बर थ्री बक्सर क्रिस ब्रोक, युरोपियन च्यामिपयन नेपाली बक्सर अदिप राना लगायत विशेष अतिथीका रुपमा सहभागी हुंदैछन् । त्यसअवसरमा बेलायती तथा नेपाली बक्सरहरुबीच कुल १० वटा खेल देखाइनेछ । कार्यक्रममा सहभागिताका लागि एनआरएन यूकेले बेलायतबासी सम्पुर्ण नेपालीलाई आव्हान गरेको छ ।






