सिड्नीमा विद्यार्थीहरुले गरे राजदूत दाहालको विदाई

तक्दीर अधिकारी
सिड्नी । प्रवासी नेपाली विद्यार्थी संगठन (ओएनएसयू)ले अष्ट्रेलियाको लागि नेपाली राजदूत महेश दाहाललाई बिदाई गरेको छ ।

राजदूत दाहाललाई तोकिएको कार्यकाल पूरा हुन नपाउँदै नेपाल सरकारले कार्यभार सम्हालेको २० महिनामै स्वदेश फिर्ता बोलाएको थियो । बिदा भएर जान लागेका राजदूत दाहाललाई विद्यार्थीहरुले सिड्नीको अर्वनमा एक कार्यक्रम आयोजना गर्दै बिदाई गर्दै सम्मान पत्र समेत प्रदान गरेका हुन् ।

अवर्नमा दिउँसो १ बजे एक नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले छोटो कार्यकालको अवधिमा पनि कोभिड महामारी जस्तो संकटको घडीमा विद्यार्थीहरुलाई राहातका कार्यक्रममा राजदूत दाहालको सक्रियता प्रशंसनीय रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै राजदूत दाहालले छोटो अवधिमै भएपनि अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुले दिएको माया र सहायोग कहिल्यै भूल्न नसक्ने बताए ।

सो अवसरमा समाजसेवीहरु सुदीप मुडभरी, परोपकारी नेपाल संस्थाका अध्यक्ष डा. रितेश चिमोरिया, याम धिताल, हेमन्त काफ्ले लगायतको उपस्थिती रहेको संगठनका अध्यक्ष सम्राट ओलीले बताए ।

राजदूत दाहालको २० महिने कार्यकालमा पनि संकटको घडीमा विद्यार्थीसँग नजिकिएर काम गरेको भन्दै संगठनले सम्मान पत्रसहित सम्मान समेत गरेको थियो ।

अध्यक्ष ओलीका अनुसार नेपालमा रहेका बालबालिकाहरुको आर्थिक सामाजिक उत्थान गर्न तथा उपचारमा सहयोग गर्दै आइरहेको परोपकारी नेपाल नामक संस्थालाई पनि विद्यार्थीहरुले सम्मान गरेका थिए । संस्थाका अध्यक्ष डा. चिमोरियालाई उक्त सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।