सिड्नी । चितवन समाज अस्ट्रेलियाले नेपाल सरकारले फिर्ता बोलाएसँगै स्वदेश फर्कन लागेका अष्ट्रेलियाको लागि नेपाली राजदूत महेश दाहाललाई विदाई गरेको छ ।
राजदूत दाहाललाई तोकिएको कार्यकाल पूरा हुन नपाउँदै नेपाल सरकारले कार्यभार सम्हालेको २० महिनामै स्वदेश फिर्ता बोलाएको थियो । बिदा भएर जान लागेका राजदूत दाहाललाई समाजले सिड्नीमा एक कार्यक्रम आयोजना गर्दै बिदाई तथा मायाको चिनो प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै राजदूत दाहालले आफूले गरेको कार्यकाल पूर्ण सफल बनाउन अधिकतम कोशिश गरेको भन्दै यस २० महिनाको अवधिमा साथ दिने सबै नेपाली समुदाय तथा सामाजिक अगुवाहरुलाई धन्यवाद दिए । उनले सरकारले बोलाएसँगै आफू खुशी भएरै जाने तर राजदूतहरुलाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिए ।
राजदूत दाहालले आफूले काम गर्दा राजदूतावासको भवन प्रकृया, दुई देश बीचको उच्चस्तरीय भ्रमण, ब्यापार सम्झौता, सिधा उडान, ज्ञानसीप र प्रविधिको हस्तान्तरण लगायतका विषयमा नयाँ आयाम थपेको भन्दै सन्तुष्टि ब्यक्त गरेको समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले जानकारी दिए ।
समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनबासी दाहालले बीस महिनामा गरेको काम निकै सम्मानजनक रहेको भन्दै आफूहरुको नजरमा दाहाल सफल राजदूत रहेको बताए ।
उक्त अवसरमा एनआरएनका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, आइसीसी सदस्य द्धोय दिनेशराज जोशी, बालचन्द्र भट्टराई, सञ्चाकर्मी डिल्ली ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, समाजिक अगुवा प्रेम सापकोटा, चितवन समाजका पूर्व अध्यक्ष बुद्धि डल्लाकोटी, छबी सापकोटा, सत्य प्रकाश कँडेल, आइसीसीकी पूर्व प्रवक्ता रन्जु थापा, युवराज भट्टराई लगायतले बोल्दै राजनीतिक घटनाक्रममा आएको फेरबदलले राजदूतलाई पूर्णकालिन काम गर्न नदिनु अत्यन्तै विरोधपूर्ण रहेको भन्दै यसखालको प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताएका थिए ।

मन लाग्दा नियुक्ती दिन मन नपर्दा हटाउने कामले देशमाथि हेर्ने विदेशको नजरमा विरोधाभास आउन सक्ने उनीहरुको भनाइ छ । उक्त अवसरमा समाजका अध्यक्ष घिमिरेले राजदूत दाहाललाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सन्चालन समाजका प्रवक्ता श्यामसुन्दर गिरिले गरेका थिए ।






