अमेरिकाको यूथ कांग्रेस संयोजकमा सञ्चारकर्मी सुरेशदर्पण चयन

लण्डन। यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेललाई नियुक्त गरिएको छ । यूथ कांग्रेस नेपालका केन्द्रिय संयोजक सचिन तिमिल्सिना द्वारा जारी प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो।

देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्षमा उभिन , लोकतन्त्रको मुलभूत सिद्धान्त, विधिको शासन तथा सुशासनको वकालत गर्न, राष्ट्रियता , प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधान द्वारा प्रदत्त हकलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल ‘ स्थापना भएको हो ।

नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिक दलसंग आवद्ध नहुने तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधरा संग समान रहने जानकारी गराए । साथै १८ वर्षदेखि ४० वर्ष भित्रका प्रजातान्त्रिक आईडोलोजीमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिन सक्ने पनि पोखरेलले बताए । अमेरिकामाप्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमाराजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ ।