एनआरएनएको चुनाव आज, दिउँसो तीन बजेदेखि मतदान

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि सोमबार मतदान हुने भएको छ ।

दिउँसो ३ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनको आगामी कार्यकालका लागि आइतबार साँझदेखि सोमबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारी दर्ताका लागि सुरुमा दिइएको ९ बजेसम्मको समय तोकिए पनि अपुग भएपछि दुईघघण्टा थपिएको हो ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एसिया, ओसियाना र मध्यपूर्वका एक/एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक/एक जना तथा युवा संयोजक र उपसंयोजक एक/एक जना आज हुने निर्वाचनबाट चुनिनेछन् ।

विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ ९ बजे नै मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।