भारतको नियतमा चीनको शंका, सतर्क रहन नेपाललाई सुझाव

india nepal

काठमाडौं, १५ कात्तिक । नेपालमा बढ्दो भारतीय हस्तक्षेपलाई लिएर चीनले चिन्ता व्यक्त गरेको छ ।

नाङ्गो हस्तक्षेप गर्न नपाउँदा नाकाबन्दी गरेर नेपालमा संकट निम्त्याएको भारतको नियतमा चीनले चिन्ता व्यक्त गरेको हो । नेपाल मामिला हेर्ने चीनका विज्ञहरूले ‘भारतीय हस्तक्षेप धेरै गम्भीर रहेको’ बताएका हुन् ।

बेइजिङका वरिष्ठ नेपाल विज्ञ प्रोफेसर वाङ होङवेले भारतको ब्रिटिशकालीन रणनीतिले नेपाललाई अर्को सिक्किम बनाउने खतरा रहेको बताउनुभएको छ । ‘भारतले ब्रिटिशकालिन दक्षिण एसिया रणनीतिलाई जन्मजात नै निरन्तरता दिएको छ र हिमालय दक्षिणको भूभागलाई आफ्नो सैन्य क्षेत्र मानेको छ’ प्रोफेसर वाङ होङवेले भन्नुभयो- ‘नेपालमा भारतको हस्तक्षेप धेरै गम्भिर छ, भारतका केही सेवानिवृत्त अधिकारीहरूले त नेपाल दोस्रो सिक्किम बन्नुपर्छ भनेका छन् ।’

पछिल्लो समय मधेलाई छुट्टयाउने अभिव्यक्ति आउन थालेपछि चीनले पत्रकार सम्मेलनै गरेर ‘राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता रक्षाका लागि नेपालले गरेका प्रयासहरूमा आफ्नो साथ रहने’ प्रतिवद्धता जनाएको थियो ।

अघोषित नाकाबन्दीको बहानामा भारतले नेपाललाई अर्काे सिक्किम बनाउन सक्ने चिन्ता जनाउँदै चीनले सतर्कता अपनाउन नेपाली अधिकारीहरुलाई आग्रह समेत गरेको छ ।

बेइजिङ इन्टरनेशनल युनिभर्सिटिको इण्डिया रिसर्च सेन्टरले गत साता आयोजना गरेको नेपालसम्बन्धी पहिलो सम्मेलनमा प्रोफेसर वाङ लगायतका विज्ञ र सरकारी अधिकारीहरूले नेपाल–भारत पछिल्लो सम्बन्ध र भारतको नियतका विषयमा गम्भीर छलफल गरेका थिए ।