काठमाडौं । गैरआवासीय नेपाली संघको तल्लो इकाइदेखि उपाध्यक्षसम्म ६ पटक चुनाव लडेर कहिले पराजित नभएको र अध्यक्ष पदमा पनि नहार्ने दाबी अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेका छन् । उनले सोमबार आयोजित उम्मेदवार घोषणासभामा यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष र महासचिवसहित उनको टिम घोषणासभामा उपस्थित थियो । १० बुदें संक्षिप्त प्रतिबद्धतापत्रसहित उपस्थित भएका आचार्यसँग उपाध्यक्षका उम्मेदवारहरु नरेन्द्र भाट, मन केसी, केशव पौडेल, रविना थापा, महासचिवका उम्मेदवार जानकी गुरुङ र कोषाध्यक्षका उम्मेदवार सोम सापकोटाको उपस्थिति थियो ।
डेलिगेटसको नामावलीमा धाँधली भइरहेको छ नि भन्ने जिज्ञासामा अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘हो, यस विषयमा धेरै गुनासा आइरहेका छन् । ती गुनासाहरु के कति ठीक हुन्, त्यसको निक्र्योल गर्न अध्यक्ष भवन भट्टलाई जिम्मा दिइएको छ । ती गुनासाहरु सुल्झाउने प्रयास भइरहेको छ । अन्तिम समयमा भइसक्यो, के यो समस्या सम्बोधन गर्न सम्भव होला भन्ने लन्डन नेपाल न्युज डट कमका प्रधान सम्पादक शिव भण्डारीको जिज्ञासामा उनले भने, ‘ती समस्या सम्बोधन हुनैपर्छ, यदि ती समस्याको समाधान नगरी अघि बढ्न सकिन्न ।’
आफूहरु प्रजातान्त्रिक र वामपन्थी भनेर चुनाव नलडेका अध्यक्षका प्रत्यासी आचार्यले दाबी गरे । उनले भने, ‘यो एनआरएनको टिम हो, हाम्रो टिममा एनसीसीको अध्यक्ष नभएको कोही पनि उम्मेदवार छैनन् ।’

के सहमतिमा नेतृत्व चयन हुन्छ भन्ने जिज्ञासामा आफूहरु जहिले पनि सहमतिको पक्षमै रहेको आचार्यले बताए । हामी हाँसी हाँसी प्रकृयालाई अघि बढाउने, अलिकति बढी भोट ल्याउनेलाई सहयोग गर्ने, कम भोट आउनेलाई सम्मान गर्ने सहमति भएको छ । यसलाई नै सहमति मानिदिन उनले अनुरोध गरे ।
तपाईहरुको जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपाध्यक्षका प्रत्यासी मन केसीले भने, ‘हामीसँग सय वर्षभन्दा बढीको अनुभव भएका व्यक्तिहरु चुनावी मैदानमा हुनुहुन्छ । जति पनि उम्मेदवार साथीहरु हुनुहुन्छ, उहाँहरुको व्यक्तिगत जीवन पनि सफल छ । दशकौं अनुभव भएका साथीहरुको टिम भएकाले एनआरएनलाई अहिले यसैको खाँचो रहेको छ ।’
घोषणासभा भिडियोमा हेर्नुस्
https://web.facebook.com/londonnepalnews/videos/2483087405268508/
https://web.facebook.com/londonnepalnews/videos/2483087405268508/?t=41






