डेलिगेट छनोट प्रक्रिया अपारदर्शी रहेको भन्दै शेर सुनारको विरोध

लन्डन। एनआरएनए युकेको चुनावमा सानो मतले पराजित घोषित गरिएका लोकप्रिय उम्मेदवार शेर बहादुर सुनारले एनआरएनएको नवौं विश्व सम्मेलनका लागि डेलिगेट छनोट प्रक्रियामा अपनाइएको अपारदर्शिता र एकलौटी काम गर्ने शैलीप्रति आफ्नो तीव्र विरोध रहेको जनाएका छन । एक विज्ञप्ति जारी गर्दै सुनारले भनेका छन् , “एनआरएन युकेमा एकता र सहकार्यका लागि हामीले कुन हदसम्म कुर्बानी गरेका छौं भन्ने तपाईंहरु सबैलाई थाहा छ।। तर जनमतको बेवास्ता गर्दै संस्थालाई एकलौटी ढंगले चलाउने काम कहिल्यै पनि सहन सकिंदैन।” आफ्नो विज्ञप्तिमा सुनारले अविलम्ब दुवै पक्षलाई मान्य हुने एक समिति गठन गरी केन्द्रले तोकेको क्राइटेरियाका आधारमा डेलिगेट छनोट गर्ने काम शुरु गर्न माग गरेका छन् । “आधा भन्दा बढी सदस्यहरुको सदस्यता शुल्क हाम्रो समूहले बुझाएको हुंदा सोही अनुपातमा हाम्रो पनि प्रतिनिधित्व होस् भनि जोडदार माग गर्दछु,” वक्तव्यमा भनिएको छ । “युकेबाटै केन्द्रीय अध्यक्ष पदको उम्मेदवार खडा हुनु भएको बेला कुनै पनि किसिमको एकलौटी निर्णय मान्य हुने छैन । हैन, एकपक्षीय रुपमा पेलेरै लान्छु भन्ने सोंच राखेका साथीहरुले त्यसपछि उत्पन्न हुने परिस्थितिको पनि जिम्मा लिनुपर्ने तर्फ समयमै सावधान गराउन चाहन्छु,” सुनारले वक्तव्यमा भनेका छन् । उनले सबै मतदाता, शुभेच्छुक एवं समर्थकहरुलाई धन्यवाद पनि दिएका छन् ।

यसै गरी एनआरएनए युकेका निवर्तमान महासचिव आरके त्रिपाठीले पनि अहिलेसम्म कति जनाको निवेदन आयो, कुन प्रक्रियाबाट डेलिगेट छनोट हुने हो, नयां कार्यसमितिले केही न बताएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। “हामीले यसअघि सबै पक्षसंग सरसल्लाह गरेर बिना कुनै विवाद डेलिगेट काठमाडौँ लगेका हौँ। तर अहिलेसम्म हामीसंग कुनै सरसल्लाह गरिएको छैन। यसपटक त युकेबाटै आदरणीय कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ। त्यसैले डेलिगेट्स कसरी छानिंदैछ भन्ने तर्फ पुरै विश्वको ध्यान हामी तर्फ छ । यस्तो बेला बन्द कोठा भित्र बस्नुको सट्टा कार्यसमितिको बैठक बोलाएर, एउटा समिति गठन गरेर, पारदर्शी र विधानसम्मत हिसाबले जतिसक्दो चांडो डेलिगेट छनोट प्रक्रिया टुंगाउन म सम्बन्धित साथीहरु लाई आग्रह गर्दछु,” त्रिपाठीले आफ्नो विज्ञप्ति मा भनेका छन् उनले कुनै पनि किसिमको सहयोगका लागि निवर्तमान कार्यसमिति तयार रहेको पनि जनाएका छन्।

प्रेस विज्ञप्ति: जस्ता को तस्तै

साथीहरु, नमस्कार!

सर्व प्रथम सवै आदरणिय मतदाता शुभेच्छुक एवं समर्थक हरुमा वलियो साथ र समर्थन दिनु भएकोमा धन्यबाद। मत दिन नसकेपनि प्रक्रियामा सहभागि हुनु हुने सवैमा साधुबाद। एनआरएन युकेमा एकता र सहकार्यका लागि हामीले कुन हदसम्म कुर्बानी गरेका छौं भन्ने तपाईंहरु सबैलाई थाहा छ। एकपक्षीय ढंगले चुनाव गराउंदा पनि अन्तिम समयसम्म हामी सहभागी भएकै हो। तर जनमतको बेवास्ता गर्दै संस्थालाई एकलौटी ढंगले चलाउने काम कहिल्यै पनि सहन सकिंदैन। अहिले एनआरएनएको नवौं विश्व सम्मेलनका लागि डेलिगेट छनोट प्रक्रियालाई अलि खुला र सर्व स्विकार्य वनाऊन नसकिएको गुनासो प्राप्त हुन थालेका छन्। सदस्यताको लिंक लाई डिसएवल गरिएको छ। त्यसैले यो छनौट प्रक्रियालाई पारदर्शि वनाऊनका लागि अविलम्ब दुवै पक्षलाई मान्य हुने एक समिति गठन गरी केन्द्रले तोकेका क्राइटेरियाका आधारमा डेलिगेट छनोट गर्ने काम शुरु गर्न म सम्बन्धित साथीहरुलाई अनुरोध गर्दछु। आधा भन्दा बढि सदस्यहरुको सदस्यता शुल्क आफ्नो समुहले वुझाएको हुंदा पनि सोहि अनुपातमा हाम्रो पनि प्रतिनिधित्व होस् भनि जोडदार माग पनि गर्दछु। त्यसमा पनि युके बाटै केन्द्रीय अध्यक्ष पदको उम्मेदवार खडा हुनु भएको बेला कुनै पनि किसिमको एकलौटी निर्णय मान्य हुने छैन । हैन, यो प्रतिनिधि छनौट प्रक्रियालाई अपारदर्शि वनायर एकपक्षीय रुपमा पेलेरै लान्छु भन्ने सोंच राखेका साथीहरुले त्यसपछि उत्पन्न हुने परिस्थितिको पनि जिम्मा लिनुपर्ने तर्फ समयमै सावधान गराउन चाहन्छु।

धन्यबाद

शेर बहादुर सुनार

निवर्तमान उपाध्यक्ष एनआरएनए युके (२०१७-१९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *