इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानसँगको शत्रुतापूर्ण नीतिका लागि कडा चेतावनी दिएका छन् ।
राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भने, ‘मिस्टर ट्रम्प, तपाईं सिंहको पुच्छरसँग नखेल्नुहोस्, पछुताउनुपर्ला ।’
इरानी पत्रिका तेहरान टाइम्सका अनुसार रुहानीले इरानी कूटनीतिज्ञलाई सम्बोधित गर्दै भने, ‘अमेरिका यो कुरा राम्रोसँग बुझ्छ कि इरानसँगको शान्ती सबै प्रकारको शान्तीको जननी हो र इरानसँगको युद्ध सबै प्रकारको युद्धको जननी । मैले कसैलाई धम्की दिइरहेको छैन तर कसैले हामीलाई डराउन वा धम्काउन सक्दैन ।’
इरानको यो धम्कीमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरेर राष्ट्रपति रुहानीलाई अमेरिकालाई अब दोस्रोपटक धम्की नदिन चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘इरानी राष्ट्रपति रुहानीका लागिः अमेरिकालाई अब कहिले पनि दोस्रोपटक धम्की नदिनु । यदि तपाईंले यो दोहोराए यस्तो परिणाम भोग्नुपर्नेछ जुन इतिहासमा पहिले कहिले भएको थिएन । अमेरिका अब यस्तो देश होइन जो तपाईंको धम्की सुनेर बसोस् । त्यसकारण सावधान !’
तेल बेच्न पाउँदैन इरान ?
रुहानीले भने, ‘जसले राजनीति थोरै मात्र पनि बुझेको छ, उसले इरानको तेल निर्यात रोक्ने कुरा कहिले गर्दैन । इतिहास साक्षी छ, यो इलाकाको समुन्द्री मार्गमा हामी शान्तिको ध्वाजावाहक हौं ।’
इरान होरमुज समुन्द्री मार्ग बन्द गर्ने कुरा गरिरहेका छन् । यो मार्गमा इरानको नियन्त्रण छ । यसअघि इरानको इस्लामिक रिभोलुशनका नेता अयोतोल्लाह खमेनईले राष्ट्रपति रुहानीको अमेरिकाविरुद्ध उनको नीतिको समर्थन गरेका थिए । त्यसपछि नै राष्ट्रपति रुहानीले अमेरिकालाई यो चेतावनी दिएका हुन् ।
राष्ट्रपति रुहानीले भने, ‘यदि इरानले आफ्नो तेल निर्यात गर्न पाएन भने यो इलाकाका कुनै पनि अन्य देशले तेल निर्यात गर्न पाउने छैनन् । ट्रम्प आफ्नो हितका लागि पूरा दुनियाँलाई जोखिममा पार्न चाहन्छन् । अमेरिकाको नीति कति सम्म मुसलमान विरोधी छ भन्ने कुरा पुष्टि गर्न यो भन्दा राम्रो समय अब आउँदैन ।’
साउदीसँगको दोस्तीका लागि इरान तयारः
रुहानीले भने, ‘म अब सजिलै भन्न सक्छु कि अमेरिका शान्तिको विषयमा प्रतिबद्ध छैन । यो देश अन्तर्राष्ट्रिय सन्धी र संगठनका लागि पनि इमान्दार छैन । हामीले जुन सम्झौतामा सन् २०१५ मा संसारका ६ देशसँग हस्ताक्षर गरेका थियौं त्यसलाई अमेरिकाले ध्वस्त बनाइदिएको छ ।’
रुहानीले यदि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले आफ्नो जिद्दी छोडे आफू दोस्तीका लागि तयार भएको बताए ।
यदि इरानको तेल निर्यातमा रोक लगाइयो भने खाडी देशका अन्य देशको तेल निर्यातलाई रोकिने विषयमा इरानले सहमती बनाइरहेको छ ।
इरानबाट तेल आयात गर्ने देशमाथि अमेरिकाले दबाब बनाइरहेको छ । अमेरिकाले भन्दै आएको छ, ‘जुन देश इरानसँग तेल खरिद गरिरहेका छन् उनीहरु अन्य कुनै देशबाट खरिद गर ।’
इरानका शीर्ष सैन्य अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार ट्रम्प प्रशासन इरानमाथि हमलाको योजना बनाइरहेका छन् ।
अमेरिकाको कडा प्रतिबन्धः
अमेरिकाको नयाँ प्रतिबन्धका कारण इरानको तेल निर्यातमा यो वर्षको अन्त्यसम्म दुई तिहाईको गिरावट आउन सक्छ । अमेरिकाको यस्तो व्यवहारले विश्वस्तरमा तेलको आपूर्तीमा कमी आउन सक्छ ।
अमेरिकाले इरानलाई तेलको वैश्विक बजारबाट पूर्ण रुपमा बाहिर निकाल्ने चाहना राख्थ्यो तर पछि अलि लचिलो भएको थियो ।
के इरानले खाडीका अन्य देशको तेल निर्यात पनि बन्द गर्नेछ ?
अमेरिकी ऊर्जा मन्त्रालयको एक रिपोर्ट अनुसार इरान र ओमानबीच एक रणनीतिक मार्ग छ जसमार्फत कम्तिमा १८.५ मिलियन ब्यारेल तेल सन् २०१६ मा हरेक दिन पठाइन्थ्यो ।
यसका साथै होरमुज समुन्द्री मार्गको प्रयोग पनि खाडीको देशले गर्ने गर्छ । रुहानीले भनेका छन्, ‘अरु देशले तेल बेच्ने अनि हामी भने मुकदर्शक बनेर हेरिरहने, त्यो कतिसम्म ठिक होला ?’
इरानका राष्ट्रपतिले भने, ‘जुन बाटो भएर खाडी देशले आफ्नो तेल बेचिरहेको छ, त्यसको सुरक्षा इरानले सधैं गर्दै आएको छ भन्ने कुरा बिर्सनु हुँदैन । अमेरिकाले इरानकै मानिसहरुलाई भड्काउने कोसिस गरिरहेको छ ।’
एजेन्सी






