गणेश चतुर्थीमा ३०८ कुमारको पूजा

बनेपा । ऐतिहासिक नगरी पनौतीमा कुमार पूजा सम्पन्न भयो । उक्त पूजामा ३०८ कुमार पुजिएका छन् । पनौती युवा मञ्च र पनौती बोलबम परिवारको संयुक्त आयोजनामा ३०८ कुमार पूजिएका हुन् ।

पनौतीमा नेवारी परम्पराअनुसार गणेश चतुर्थीका दिन कुमारलाई पुजा गरिएको हो । कुमार पूजा गर्दा बच्चाहरु निरोगी र दीर्घायु हुने मान्यता रहेको छ । बच्चाहरु निरोगी बनाउनुका साथै आफ्ना धार्मिक आस्थाका कारण कुमार पुजा गर्ने परम्परा रहेको पनौत बोलबमका सल्लाहकार अनिल श्रेष्ठले जानकारी दिए । हामी माझ विविध संस्कृति अनि संस्कार रहेका छन् ती मध्ये एक कुमार पूजा रहेकोले यस संस्कार र परम्परा धान्नलाई कुमार पूजा गरिएको सल्लाहकार श्रेष्ठ बताउँछन् ।

पनौतीमा करिव ८ दशक अघिसम्म कुमार पुजाको प्रचलन रहे पनि केही वर्षदेखि यो संस्कार रोकिएको थियो । यो परम्परा गतवर्षदेखि सुरु भएको हो । पनौतीका युवाहरूले गतवर्षदेखि यस परम्परालाई निरन्तरता दिदै यसवर्ष ३०८ कुमार पूजा गरिएको सल्लाहकार श्रेष्ठ बताउँछन् । आयोजकका अनुसार पनौतीमा चलिआएका धर्म र संस्कृतिको जगेर्ना गर्न धार्मिक क्षेत्रमा सक्रिय यूवाहरुले कुमार पुजा आयोजना गरेको हो ।

जस्तोसुकै परिस्थिति आए पनि अब पनौतीको कुमार पूजा नरोकिने आयोजकले जनाएको छ । पनौतीमा चलिआएका संस्कृति तथा लोपन्मुख रीतिरिवाज ,कला र संस्कृतिको जगेर्ना गर्न हरदम तत्पर रहने समेत सल्लाहकार श्रेष्ठले बताए । यसरी कुमार पुजा गर्नाले भविष्यमा हुने क्षतिमा कमि हुने र धार्मिक रुपमा विजय प्राप्त हुने जनविश्वास स्थानीयमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *