आवश्यकताअनुरूप विद्युत् आपूर्ति नहुँदा लोडसेडिङ गर्नुपर्दछ । दिन तथा रातका केही घन्टा आपूर्ति रोकेर ऊर्जा सञ्चय गर्नुलाई लोडसेडिङ भनिन्छ । लोडसेडिङ गरी ऊर्जा सञ्चय गरेर पुनः विद्युत् ऊर्जा प्रयोगका लागि पठाइन्छ । यसरी आलोपालो गर्दै विद्युत् ऊर्जा वितरण गर्ने पद्धति लोडसेडिङ पद्धति हो ।
विद्युत् ऊर्जाको सम्भावना कति छ ?
हिमालयबाट निस्केर दक्षिणतर्फ अविरल बग्ने नदीनालाहरू नेपालका मूल्यवान् प्राकृतिक सम्पदा हुन् । उत्तरबाट दक्षिणतर्फ भिरालो परेको जमिनमा अत्यन्त वेगले बग्ने हुनाले नेपालका नदीहरूबाट छोटो दूरीमा ठुलो ‘हेड’ प्राप्त भई ठुलो ऊर्जा निकाल्न सकिन्छ । छोटो नहर वा टनेल निर्माण गरी ठुलो जलशक्ति पैदा गर्न नेपालका नदीहरू अत्यन्त उपयोगी छन् । समथरमा बग्ने नदीहरूमा भने हेडको कमी हुनाले ठुलो शक्ति पैदा गर्न गाह्रो हुन्छ ।
ऊर्जाका स्रोतहरू के–के हुन् ?
क) जल ऊर्जा
जलस्रोत नेपालको सबैभन्दा महत्त्वपूर्ण ऊर्जाको स्रोत हो । नेपालमा जल ऊर्जाको क्षमता निकै ठुलो छ । तर, क्षमताको दसांश पनि ऊर्जा प्रयोगमा ल्याउन सकिएको छैन । नेपाल जलसम्पदामा विश्वको दोस्रो र एसियाको पहिलो मुलुक हो भनिन्छ । यस्तो जलसम्पदाको धनी मुलुक यसरी लोडसेडिङमा बस्नु लज्जास्पद विषय हो । एक ठाउँबाट ऊर्जा निकालेपछि पुनः अर्को ठाउँबाट पनि उत्तिकै ऊर्जा निकाल्न सकिन्छ । एउटै नदीबाट दसौं स्थानबाट ऊर्जा निकाल्न सकिन्छ । यसरी ऊर्जा निकाल्दा अर्को आयोजनालाई कुनै असर पर्दैन । घाँटी परेको स्थानमा अग्लो ड्याम बनाएर ऊर्जा निकाल्यो भने त एउटै नदीको ऊर्जा यति धेरै प्राप्त हुन्छ कि जुन नेपालले खपत गर्न नै सक्दैन । जल ऊर्जाको क्षमता यति धेरै छ, त्यो भनी साध्य नै छैन ।
सुन्दर युवायुवतीमा रहेका गुण वैभवहरू अरूका लागि आकर्षणका केन्द्र बन्दछन् । त्यसैगरी, हाम्रा जलसम्पदा र प्राकृतिक सम्पदाले सुशोभित नेपालको जलसम्पदा र प्राकृतिक सम्पदा आकषर्णका स्रोत हुन् । प्राकृतिक सम्पदा जलसम्पदाको उचित प्रयोग नहुनु नै नेपालका लागि दुःखको कारण बन्न पुगेको छ अहिले । ठिकसँग प्रयोग नगरिएको सुन्दरता अभिशाप बनेजस्तै प्राकृतिक सम्पदा पनि अभिशाप बन्न थाल्छन् । जलसम्पदाको उचित प्रयोग गर्न नसक्नु नै हाम्रो दुःखको कारण बन्न पुगेको छ । यसमा हामी सबै अत्यन्त सजग हुनु जरुरी छ ।
नेपालमा हालसम्म उत्पादित ऊर्जा राज्यको माग भन्दा केही कम छ, यसैले लोडसेडिङ गर्नुपरिरहेको छ । अब नेपालका लागि आवश्यक पर्ने ऊर्जा थोरै मात्र उत्पादन भयो भने पनि कुल आवश्यकताको परिपूर्ति हुन जान्छ । आवश्यकताको परिपूर्ति भएपछि लोडसेडिङ हटिहाल्छ । देश पूर्ण रूपमा ऊर्जाले भरपूर र ऊर्जामा आत्मनिर्भर बन्छ । यसपछि उत्पादित ऊर्जा छिमेकी मित्रराष्ट्रहरूमा वितरण गर्न सकिन्छ । यसले राष्ट्रिय आय बढ्दछ भने मित्र राष्ट्रहरूको विकासमा पनि योगदान पु¥याउन सकिन्छ । ऊर्जाको परिपूर्ति गर्ने कार्य चाहेको खण्डमा यसै आर्थिक वर्षमा सम्पन्न गर्न सकिन्छ । निर्माण कार्य पूरा हुन लागेका योजनाहरूमा मात्र बजेट विनियोजन गरेर यसै आर्थिक वर्षमा नै योजनाहरू सम्पन्न गर्न सकिन्छ । आयोजना सम्पन्न भएपछि यसै आवबाट थप विद्युत् ऊर्जा प्राप्त हुन थाल्छ । थोरै लगानी, थोरै समय लाग्ने तर ठूलो उपलब्धि हासिल हुने यो महत्त्वपूर्ण कार्य राज्यले छिटोभन्दा छिटो गर्न जरुरी छ । पूरा हुन लागेका आयोजनाहरूलाई पूरा गर्न लाग्ने रकम र जनशक्ति राज्यले यथाशक्य छिटो व्यवस्था मिलाउनुपर्छ ।
पूरा हुन लागेका योजनालाई किन प्राथमिकता दिने ?
१) सम्पन्न हुन लागेका आयोजनाहरूलाई पूर्णता दिन ठुलो खर्च लाग्दैन । ठुलो लगानी भइसकेको हुनाले सानो खर्च मात्र गरे पुग्दछ । सानातिना मसिना कामहरू छिटो छरितो ढंगले पूरा गर्ने परिपाटी मिलाउन जरुरी हुन्छ । आवश्यक पर्ने रकम र जनशक्ति जुटाएर कार्य गरेपछि थप ऊर्जा प्राप्त भइहाल्छ । ऊर्जा थपिएपछि राज्यलाई चाहिने ऊर्जा शक्ति प्राप्त भइहाल्छ । चाहिने ऊर्जा प्राप्त भएपछि लोडसेडिङ गरिराख्नुपर्ने आवश्यकता नै हँुदैन ।
२) जति ऊर्जा चािहन्छ, त्योभन्दा बढी उत्पादन हुन थालेपछि लोडसेडिङको कुनै औचित्य नै रहँदैन । गर्नु नै पर्दैन । लोडसेडिङ पूर्ण रूपमा हटिहाल्छ ।
३) उद्योगधन्दा, कलकारखानाहरू सञ्चालन गर्न सहज हुन्छ । लोडसेडिङ हटेपछि उद्योगधन्दा, कलकारखानाहरू फस्टाउन थाल्दछन् । उद्योगधन्दा सञ्चालन भएपछि रोजगारीका अवसर बढ्न थाल्छन् । रोजगारी बढेपछि बिदेसिने युवायुवतीले स्वदेशमा नै काम गर्ने अवसर प्राप्त गर्दछन् । स्वदेशमा नै रोजगारी प्राप्त भएपछि विदेश पलायन हुने युवाशक्ति स्वदेशमा नै रमाएर बस्न थाल्छ । राज्यको यो अर्को ठुलो उपलब्धि हुने छ ।
४) ग्याँसमा खाना पकाउने सभ्यताको विकास भइसकेको हाम्रो समाजमा बाध्यतावश दाउराको प्रयोग गर्न विवश हुनुपरेको छ । पूरा देशले नै पीडा महसुस गरिरहेको छ अहिले । इन्धनको निम्ति प्रयोग हुने ग्याँसको कार्य विद्युत्बाटै गर्न सकिन्छ । खाना पकाउने इन्धनको रूपमा विद्युत्लाई प्रयोग गर्न सहज छ, सरल छ । यो प्रविधि अपनाउँदा ग्याँसको अभावमा भोग्नुपरेको पीडा सहजै समाधान हुन्छ । विद्युत्बाटै इन्धनको कार्य पूरा भएपछि ग्याँस प्रयोग गर्न जरुरत नै पर्दैन । स्वदेशमा ग्याँस उत्पादन गरी पाइपलाइनबाट वितरण गर्ने परिपाटी नहुँदासम्म ग्यास सिलिन्डरकोे प्रयोग पूरै हटाउन आवश्यक छ । राज्यले सिलिन्डरमा गरेको लगानीले ठुला आयोजनाहरू पूरा हुन सक्छन् । इन्धनका रूपमा विद्युत् ऊर्जा प्रयोग गर्न पाइयो भने राज्यको निम्ति अर्को महत्त्वपूर्ण उपलब्धि हुने छ । यो पीडाको बेला राज्यले नयाँ पाठ सिक्नुपर्दछ ।
५) योजना आयोग, अर्थ मन्त्रालय र विद्युत् प्राधिकरण सबैले यसै अनुरूप योजना तर्जुमा गर्न र बजेट विनियोजन गर्न जरुरी छ । पूरा हुन लागेका चिलिमे, तामाकोसीजस्ता केही योजनालाई पूर्णता दिन चाहिने बजेटको व्यवस्था यसै आवमा गर्नुपर्दछ । बाँकी भएको रकम मात्र अन्य आयोजनाहरूमा विनियोजन गर्दा राज्य वास्तवमा नै लाभान्वित हुने छ । यो राज्यले गर्नुपर्ने पहिलो प्राथमिकतापूर्ण कार्य हो ।
६) देशलाई आत्मनिर्भर बनाउन पूरा हुन लागेका आयोजनामा अत्यधिक रकम विनियोजन गरी आयोजनाहरूलाई पूर्णता प्रदान गर्नु सबैभन्दा जरुरी विषय हो । यसो गरेमा राज्यले भोगेको खाना पकाउने इन्धनको पीडा छिट्टै समाधान गर्न सकिने छ ।
(ख) सौर्य ऊर्जा
कुहिरो र हुस्सु नलाग्ने, बाह्रै महिना बाह्रै काल खुला आकाश देख्न पाइने यो अर्को प्राकृतिक वरदान हो, नेपालको । हुस्सु, कुहिरोको प्रकोप नहुनाले सौर्य ऊर्जा प्राप्त गर्न अत्यन्त सहज छ । सौर्य ऊर्जाको अनन्त भण्डार जति प्रयोग गरे पनि सकिँदैन । बाह्रै महिना नेपालका सबै भूभागहरूमा प्रखर सूर्य किरणहरू प्राप्त भइरहन्छन् । सौर्य ऊर्जालाई पनि विकास गर्दै जाँदा देश अरू समृद्ध बन्छ र आत्मनिर्भर हुँदै जान्छ । विकसित मुलुकहरू सौर्य जहाज र सौर्य कार बनाउने प्रयासमा लागिरहेका छन् । हाम्रो पनि यस दिशामा पाइला बढ्न जरुरी छ । यो राज्यले ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण विषय हो । तराई सौर्य ऊर्जा, वायु ऊर्जा उपलब्ध गर्न प्रयत्नरत रहनुपर्दछ । यसमा सारा तराईवासीको भाग्योदय हुने छ । अनावश्यक मागहरू राख्ने झगडा गर्ने गर्दा राज्य अलमलिन्छ, शान्ति खलबलिन्छ । तराईवासीले पनि त्यतिकै ठुलो यातना भोग्नुपरिरहेको छ । गौँथलीको रिसले घरमा आगो लगाएजस्तो गर्नुहुँदैन । यसले युवाहरूमा नकारात्मक प्रभाव बढ्ने र तराईको जनजीवन झन् कष्टकर हुँदै जाने छ । तराई अब विकासमा लाग्नुपर्दछ राज्यले पनि तराईमा विशेष विकास योजनाको तर्जुमा गर्न जरुरी छ ।
(ग) वायु ऊर्जा
पहाडहरूमा, भन्ज्याङहरूमा, नदीका खोंचहरूमा हरपल वायु सुसाएर बहिरहेको हुन्छ । प्रकृति माताले दिएको यो अर्को अपूर्वको वरदान हो । विकसित मुलुकहरूले वायुको बहाव नभएका स्थानमा पनि
‘विन्ड मिल’हरू राखेर ऊर्जा उत्पादन गरेका छन् । यहाँ अत्यन्त सहज रूपमा वायु ऊर्जा प्राप्त गर्न सकिने, हरपल वायु सुसाएर बहने स्थानहरू प्रशस्त छन् । यतातिर पनि राज्यको ध्यान आकृष्ट हुन जरुरी छ । ‘काशी जाने कुत्तीको बाटो’ भनेझैं भएको छ अहिले । काशी जान दक्षिणतर्फ लाग्नुपर्छ, उत्तरतिर लागेर कासी पुगिँदैन । त्यसैगरी आफ्नो आवश्यकता जहाँ छ, त्यतैतिर लाग्न जरुरी छ । बहकाउमा लाग्यो भने भावी पिँढीले पनि ठुलो पीडा भोग्नुपर्ने छ । यतातिर राज्य र आमजनता पनि संवेदनशील हुन जरुरी छ । तराईको उर्वर भूमि उर्वर भूमिकै रूपमा रहनुपर्दछ । पहाडी भूभागबाट नदीलाई उठाएर तराईलाई सिँञ्चन गर्नुपर्दछ । तराईमा नै बाँध उठाउने कार्य कदापि गर्नु हुँदैन । तराईवासीले दूरदर्शिता र संवेदनशीलता अपनाउन जरुरी छ ।
आत्मनिर्भर कसरी बन्न सकिन्छ ?
साना प्राणी, ठुला प्राणी सबै आत्मनिर्भर छन् । ठुला प्राणीका लागि ठुलै बासस्थान, आहारको व्यवस्था छन् भने सानालाई सानै बासस्थान र आहारको व्यवस्था प्रकृतिबाटै मिलाइएको छ । सबै आत्मनिर्भर छन् । जुम्रा, उडुस तथा उपियाँहरू भने परजीवी हुन् । यिनीहरू अरूको शरीरमा मात्र बाँच्न सक्छन् । पन्छीहरू, जनावरहरू स्वतन्त्र छन् र आत्मनिर्भर पनि छन् । आफ्ना स्रोत साधनको ठिक प्रकारले प्रयोग गरेका छन् । त्यसैगरी हामी पनि हाम्रा स्रोत साधनको पूर्ण रूपमा परिचालन गरी आत्मनिर्भर बन्न जरुरी छ । स्रोतसाधन परिचालन गरी आत्मनिर्भर हुने प्रयत्नमा लाग्नुपर्दछ । हामीसँग ग्याँस खानीहरू छन्, तैल्य पदार्थका खानी छन्, नुन खानी, सुन खानी, फलाम खानी आदि विविध खानीहरूको कमी छैन । ऊर्जाको पूर्णता भएपछि उत्खनन् गर्न र प्रशोधन गर्न सहज हुने छ । देश सम्पदाले सम्पन्न छ । स्रोत साधनले परिपूर्ण छ । प्रयोग गर्नेतर्फ देशको ध्यान जान जरुरी छ । आपसी झगडा, कलह त्यागेर स्रोत साधनको उपयोगमा लाग्यो भने देश आत्मनिर्भर बन्दै जाने छ ।
हामी पनि हाम्रा स्रोतसाधनको पूर्ण रुपमा परिचालन गरी आत्मनिर्भर बन्न जरुरी छ । स्रोतसाधन परिचालन गरी आत्मनिर्भर हुने प्रयत्नमा लाग्नुपर्दछ । हामीसँग ग्या“स खानीहरू छन्, तैल्य पदार्थका खानी छन्, नुन खानी, सुन खानी, फलाम खानी आदि विविध खानीहरूको कमी छैन । ऊर्जाको पूर्णता भएपछि उत्खनन् गर्न र प्रशोधन गर्न सहज हुने छ । देश सम्पदाले सम्पन्न छ ।







