फर्किए दासानायके

pubuduकाठमाडौं- चार वर्ष अघि नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो सफल प्रशिक्षकको भूमिका निभाउँदै शनिबार स्वदेश फर्किएका छन् ।

नेपाललाई ट्वान्टी-२० विश्वकप सम्मको यात्रा तय गराउन सफल प्रशिक्षक पुबुदु नेपाली क्रिकेटलाई डिभिजन-१ सम्म पुर्‍याउन सफल भए ।

स्वदेश फर्कनुअघि विमानस्थलमा उनले परिस्थिति मिले नेपाल फर्कने चाहना राखेका छन् ।

२०११ को सेप्टेम्बरमा नेपाली टिम समाल्न आएका प्रशिक्षकले नेपाललाई डिभिजन-४ बाट डिभिजन-१ सम्मको यात्रा गराउन सफल भए । एकदिवसीय विश्वकप छनोटको अनुभवसमेत नेपालले प्राप्त गर्‍यो । नेपाली टिमप्रति आफु सधैंभरि गौरव गर्ने बताएका उनले नेपाली टिमको लगनशीलता उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका थिए ।

नेपाली टिमलाई एकदिवसीय मान्यता दिलाउने आफ्नो इच्छा पूरा नभए पनि पाएको सफलताबाट आफू खुसी रहेको बताए । यद्यपि, नेपाली टिमको मेहेनतले एकदिवसीय मान्यता पनि नेपाली टिमले पाउने विश्वास लिए ।

नेपालमा रहँदा खेलाडीसँगको राम्रो सम्बन्ध भए पनि क्यान विवादको असर उनमा पनि पर्‍यो । यद्यपि, उनले आफूले सबैकुरा बिर्सिएर नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउँदै आएको बताएका छन् ।