लण्डन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् वर्षाका कारण रोकिएको नेपाल र स्कटल्यान्डबीचको खेल अहिले पुनः भइरहेको छ ।
खेल शुक्रबार रोकिएकै स्थितिबाट सुरु भएको हो । स्कटल्यान्डले जितका लागि २० दशमलव २ ओभरमा ९५ रन बनाउनुपर्ने छ ।
स्कटल्यान्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो ।
तर, वर्षाका कारण खेल प्रभावित बनेपछि स्कटल्यान्डले डकवर्थ लेविस पद्दतिअनुसार २२ ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो । स्कटल्यान्डले १० बल मात्र सामना गर्दा पुनः वर्षा बाधक भएपछि खेल आजका लागि सारिएको हो । त्यस अवस्थामा उसले बिना विकेट १५ रन जोडेको थियो ।
प्रतियोगितामा नेपाल र स्कटल्यान्डसँगै नामिबिया, पपुवा न्युगिनी, हङकङ, युएई, केन्या र नेदरल्यान्ड्स सहभागी छन् ।







