भूकम्पको पीडा भुलेर विश्वकपको तयारीमा

काठमाडौं, १२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आसन्न ट्वेन्टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि तयारी सुरु गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण नेपाली टोलीले प्रतियोगिताको तयारी सुरु गर्न सकेको थिएन ।
नेपाली टोलीका कप्तान पारस खड्काले ‘आफूहरु भूकम्पको सम्पूर्ण पीडा बिर्संदै महत्वपूर्ण प्रतियोगिताको तयारीमा केन्द्रित भएको’ बताए । प्रतियोगिताको तयारीका लागि केही दिनपछि नेपाली टोली भारत जाँदै छ ।
यस्तै, भारतको बसाइ सकिएपछि थप अभ्यास र मैत्रीपूर्ण खेलका लागि टोली इंग्ल्यान्ड र नेदरल्यान्ड्स जाने छ ।‘सम्पूर्ण खेलाडीले कडा मिहेनत गरेका कारण प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै विश्वकपका लागि छनोट हुने लक्ष्य लिइएको’ कप्तान खड्काले हामीसँग बताए । छनोट प्रतियोगिता आगामी जुलाई ६ देखि जुलाई २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्तरुपमा आयोजना हुँदैछ ।