काठमाडौं, १२ जेठ । पन्ध्र महिनाको अवधिमा एउटै मन्त्रालयमा तीन÷तीनजना मन्त्री फेर्न नेकपा एमालेलाई के कुराले बाध्य पा¥यो ? भन्ने प्रश्नले मुलुकको राजनीतिक वृत्तमा विनाशकारी भूकम्पको चर्चालाई समेत ओझेलमा पारेको छ । एमालेले गत शुक्रबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यलाई हटाएर उनका ठाउँमा ‘मालदार’ कृपाशुर शेर्पालाई ल्याएको छ । नेपाली कांग्रेसमा जस्तै निश्चित व्यक्तिहरूले मन्त्री पदमा ‘मोहियानी हक’ कायम नगरुन् भनेर एमालेले जसले बढी ‘कुत’ बुझाउँछ, उसैलाई मौका दिनेगरी मन्त्री पदलाई ‘लिलाम बढाबढ’ मा राखेको आंकलन धेरैले गरेका छन् ।
सात महिनाअघि भीम आचार्यलाई हटाएर अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो । आचार्य एमालेका वरिष्ठ नेता झलनाथ खनालका बहिनी ज्वाइँ हुन् । उनको राजनीतिक योगदान खनालको भन्दा कम थिएन । तर राजनीतिक नियुक्ति तथा आर्थिक लेनदेनमा कुरा नमिलेको भन्दे खनालकै अग्रसरतामा आचार्यलाई हटाएर उनको ठाउँमा अमात्यलाई नियुक्त गरिएको थियो । भलनाथ खनाल प्रधानमन्त्री हुँदा पीए हुनुबाहेक अमात्यको खासै राजनीतिक योगदान थिएन । राजनीतिक योगदान पनि नभएको, विषयवस्तुमा पनि विज्ञ नभएको र नातापाता पनि नपर्ने व्यक्तिलाई केका आधारमा मन्त्री बनाइन्छ ? भन्ने कुरामा एमाले पंक्ति अनभिज्ञ थिएन । त्यतिबेला यो प्रकरणले खासै चर्चा पाएन । आफूलाई मन्त्री बनाइदिनेहरूको जुनाफमा मागेजति ‘कुत’ नबुझाए कुनै पनि बेला हट्नुपर्ने यथार्थताबाट मन्त्री अमात्य अनभिज्ञ थिएनन् । तर मागेको जति ‘कुत’ बुझाउँदा पनि आफ्नो मन्त्री पद टिक्न नसकेकोमा अमात्य आक्रोशित बनेको एमाले स्रोतले जनाएको छ ।
तर भन्नलाई चाहिँ मन्त्री अमात्यको जागिर वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर आएको ६.९ रेक्टर स्केलको भूकम्पले खाइदिएको भनिएको छ । एमालेले आफ्नो निश्चित कार्यकर्ता पंक्तिलाई मन्त्री अमात्यको जागिर जानुको कारणबारे यसरी ब्रिफिङ गरेको छ– ‘वैशाख २९ गते मंगलबार दिउँसो १२.५५ बजे दोलखा केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प आएपछि अमेरिकी सेनाको हेलिकोप्टर दिउँसो १.४५ बजे उद्धारका लागि दोखलाको सिंगटी प्रस्थान ग-यो । तर उडेको १५ मिनेटपछि उक्त हेलिकोप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर कन्ट्रोल टावरमा सम्पर्क गर्न सकेन । किनकि एयर कन्ट्रोल टावरका कर्मचारीहरू भूकम्प आयो भन्दै भागेका थिए । उनीहरू साँझ ४ बजेसम्म नै गायब थिए ।
यता, हेलिकोप्टर हराएपछि अमेरिकी दूतावासमा खैलाबैला मच्चियो । हराएको हेलिकोप्टर तत्कालै खोज्नका लागि अर्को हेलिकोप्टर पठाउने तयारी अमेरिकी दूतावासले ग¥यो । तर एयर कन्ट्रोल टावरमा मान्छे नै नभएका कारण खोजीकार्यका लागि तत्काल अर्को हेलिकोप्टर उडाउन सकिएन । यस्तो स्थितिपछि नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी आत्तिए । उनी आफैं पर्यटनमन्त्री अमात्यसँग गुहार माग्न गए, तर मन्त्री अमात्यले एयर कन्ट्रोल टावरका कर्मचारीलाई बोलाएर काममा खटाउन सकेनन् । त्यसपछि उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष खड्गप्रसाद ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ लगायत धेरै नेताहरूसँग सम्पर्क गरी हारगुहार गरे, तर नेताहरूले पनि केही गर्न सकेनन् । यो स्थितिपछि अमेरिकी राजदूत बोडीले सुस्केरा हाल्दै प्रतिक्रिया दिए– ‘म कस्तो देशमा राजदूत भएर आएछु ।’ राजदूत बोडीको त्यही सुस्केरो नै पर्यटनमन्त्री अमात्यको जागिर जानुको मुख्य कारण रहेको कुरा एमालेले आफ्नो निश्चित पार्टी पंक्तिलाई सूचित गराएको छ ।
तर अमात्यको जागिर जानुमा यही मात्रै सम्पूर्ण कारण भने होइन । पोखरा र लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठेक्कापट्टामा आएको कमिसन, लुम्बिनी विकास कोषमा दलाई लामाको मान्छे नियुक्त गर्दा आएको कमिसनलगायतको बाँडफाँटमा कुरा नमिलिरहेको अवस्थाम चीनले समेत गुनासो गरेपछि वरिष्ठ नेता झलनाथ खनालले यस्तो निर्णय गरेको बताइन्छ । लुम्बिनी ट्रस्टमा नियुक्त गरिएका दलाई लामाका प्रतिनिधि सिद्धार्थ महर्जन ‘भिक्षु निग्रोध’ का बारेमा चीनले तत्कालै आपत्ति जनाएको थियो । पाँच करोड रुपैयाँ लिएर नियुक्ति पाएका स्वतन्त्र तिब्बत समर्थक भिक्षु निग्रोधलाई हटाउन नमिल्ने भएपछि चिनियाँ राजदूतलाई चित्त बुझाउन झलनाथले मन्त्री अमात्यलाई ‘तपाई नै राजीनामा दिनुस्’ भनेको स्रोतले बताएको छ । खनालका पूर्व पिए अमात्यलाई हटाइएपछि उनैले आफ्नो कुनै अनुचरलाई नियुक्ति गर्ने मनशाय देखाएका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट कृपाशुर शेर्पालाई मन्त्री बनाएर सबैलाई चकित पारिदिए ।
अमात्यको ठाउँमा मन्त्री बनाइएका कृपाशुर शेर्पा लामो समयसम्म भन्सार विभागमा काम गरेर सात वर्षअघि सुब्बा पदबाट रिटायर्ड भएका पूर्वकर्मचारी हुन् । २०५४ सालमा राप्रपासँग मिली गृहमन्त्री भएका बेला वामदेव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सुन तस्करीको लाइन खोलेका थिए । उक्त लाइनमा सहयोगीको भूमिका खेलेपछि शेर्पा गृहमन्त्री गौतम हुँदै एमालेको सम्पर्कमा पुगेका हुन् । सुन तस्करीको ठेक्का गृहमन्त्री गौतमले दीपक मलहोत्रा नामका व्यापारीलाई दिएका थिए । तर लामो समय भन्सारमा काम गरेका कारण मलहोत्राले शेर्पालाई पनि साझेदार बनाएका थिए । उनलाई साझेदार बनाउनुको अर्को कारण शेर्पाकी श्रीमती कमला शेर्पा गृह मन्त्रालयको कर्मचारीका रूपमा विमानस्थलको अध्यागमनमा कार्यरत रहनु पनि हो । यही सझेदारीबाट करिब चार÷पाँच अर्ब रुपैयाँ कमाई भएपछि सुब्बा शेर्पा समाजसेवातर्फ लागेका थिए । यो पैसाले आफ्नो गृहजिल्ला भोजपुरमा उनले धेरै नै सामाजिक काम गरी लोकप्रियता आर्जन गरे । जिल्लाका स्थापित नेता अजम्बर राई जनजाति पार्टीतिर लागेपछि उनको ठाउँमा गत संविधानसभा निर्वाचनमा कृपाशुरले टिकट पाए । सामाजिक काम गरेका करण उनले सानदार मतले चुनाव पनि जिते । यतिबेला महाभूकम्पले एमालेको पार्टी केन्द्रीय कार्यालय भवन ध्वस्त भयो । यसको व्यवस्था पनि शेर्पाले गरिदिए । उनले आफू अध्यक्ष रहेको पासाङ ल्हामु शेर्पा ट्रस्टको कार्यालय नै एमालेको केन्द्रीय कार्यालय हुने व्यवस्था मिलाइदिए । त्यहीबापत उनले यो पुरस्कर पाएको एमाले स्रोतले जनाएको छ ।
राजदूतले भने– कस्तो मुलुकमा राजदूत भइएछ






