निर्वाचन सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं– असार १४ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न सरकारले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि र गृहमन्त्री जनार्दन शर्मासहित आयोगका प्रमुख निर्वाचन आयुक्तबीच भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले असार १४ को चुनावी मिति तलमाथि गर्दा के फरक पर्छ भनेर सोधेको प्रश्नमा आयोगले निर्वाचन मिति नसार्न चेतावनी दिएको हो ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले आयोगले गर्नुपर्ने सम्पुर्ण तयारी गरिसकेकाले असार १४ मै निर्वाचन गर्न सरकारलाई आग्रह गदै तोकिएको मितिमा चुनाव नभए मुलुकमा राजनीतिक दुर्घटना हुनसक्ने भन्दै सचेत गराएका थिए । उनले फेरि पनि निर्वाचन सारे मुलुकमा ‘पोलिटिकल इलोक्ट्रोरल डिजास्टर’ हुने भन्दै सरकारलाई त्यसतर्फ सर्तक गराए ।

दोस्रो चरणको निर्वाचनका लागि असार २ गते उम्मेदवारको मनोनयनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । तर, संविधानप्रति असन्तुष्टि जनाउदै आएको मधेसकेन्द्रित राजपाले आफ्ना माग सम्बोधन नभई असार १४ को निर्वाचन गर्न नहुने बताउँदै आएको छ ।