अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा सम्पूर्ण एनसीसीको निर्वाचनपछि : उपाध्यक्ष आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले सम्पूर्ण एनसीसीको निर्वाचनपछि मात्र औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने बताएका छन् । आचार्यले उक्त कुरा कतार र मलेसियाको एनसीसी अधिवेशनमा सहभागी भएर काठमाडौं आउने क्रममा बताएका हुन् ।

लन्डन नेपाल न्यूजसँगको कुराकानीमा उपाध्यक्ष आचार्यले भने, ‘उपाध्यक्ष हुँ, स्वभाविक रुपमा अध्यक्षको उम्मेदवार हुँ । म अध्यक्षको उम्मेदवार हुँ भनेर संसारभरिका साथीहरुलाई थाहा छ, तर सम्पूर्ण एनसीसीको अधिवेशन सम्पन्न नभएसम्म औपचारिक घोषणा गर्दिन् ।’

संसारभरिका नेपालीको पीडा लगभग उस्तै हो, स्वदेशमा अवसर नपाएर विदेशिनु नेपालीको बाध्यता हो । त्यसलाई सम्बोधन हुने गरी एजेन्डासहित आफूले छिट्टै अध्यक्ष पदमा उम्मेदवार घोषणा गर्ने आचार्यले बताए ।

विगत १२ वर्षदेखि आफू एनआरएनको कमिटीमा रहेर काम गरेको उपाध्यक्ष आचार्यले बताए । उनले भने, ‘म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाका लागि काम गरिरहेको छु । मलाई अझ जिम्मेवार बनेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास छ ।’

दुई दिने नेपाल बसाईपछि उपाध्यक्ष आचार्य जापानतर्फ लागेका छन् । जापानमा भेटघाट तथा औपरिक कार्यक्रममा सहभागी भएपछि उनी लन्डन फर्कने कार्यक्रम रहेको छ । त्यसपछि उनी युरोपका एनआरएनसँग भेटघाटका लागि बेल्जियम र नेदरल्यान्ड जाने कार्यक्रम रहेको भेटमा आचार्यले बताए ।

एनआरएनभित्र राजनीति घुसाउने प्रयास भइरहेको उनको भनाइ छ । एनआरएन विशेष विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो, उपाध्यक्ष आचार्यले भने, ‘कसैले राजनीति घुसाउने प्रयास गरे त्यसका लागि सतर्क रहनेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *