रक्सौल नाकामा धर्नामा बसेका आन्दोलनकारीलाई भारतीयले लखेटे

IMG_1099वीरगन्ज- वीरगन्ज रक्सौल नाकाको मितेरीमा धर्ना दिएर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्ताहरुलाई बुधबार राति भारतीयहरुले आक्रमण गरेर लखेटेका छन् ।

दशगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीहरुलाई कुटेर लखेटेका हुन् । भारतीयहरुको कुटाइबाट धर्नामा बसेका मधेसी दलका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाराको कलैया नगरपालिकाका सुरेश साह कानु , फेटा-२ का रन्जित साह, दक्षिण झिटकैयाका राम दहिन यादव र नन्दु यादव तथा वीरगन्ज-१३ का फिरोज बाबु खान छन् ।

घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लठ्ठी र भाटा बोकेका भारतीयहरुले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् ।

भारतीय नागरिकले धर्नास्थलमा आन्दोलनकारीले टाँगेको टेण्ट भत्काउनुका साथै धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ रोकिएको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका छन् ।