काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लागेको १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांकको कारबाहीविरुद्ध गरेको अपिल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार अस्वीकार गरिदिएको छ ।
लगातार २१ वर्ष एन्फा अध्यक्ष रहेका थापालाई फिफाको इथिक्स कमिटीले २९ कात्तिकमा उक्त कारबाही गरेको थियो । त्यसविरुद्ध थापा फिफाको अपिल कमिटीमा पुगेका थिए । तर उनको अपिल शुक्रबार अस्वीकार गरिएको हो ।
अपिल कमिटीको उक्त निर्णयसँगै एन्फामा अध्यक्षको निर्वाचनका लागि ढोका खुलेको छ । अपिल कमिटीको त्यस निर्णयले निराश पारेको विज्ञप्तिमार्फत थापाले जनाएका छन् । उनले तटस्थ अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स) मा जाने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनलाई संसदको सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ बढी अनियमितता गरेको ठहर गरे पनि त्यसको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखिएको थियो ।






