आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

Nepali-ethenicकाठमाडौँ- पहिलो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ ।

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ र नेपाल सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको एकहप्ते महोत्सवमा करिब १० वटा मगर, लिम्बू, गुरुङलगायत विभिन्न भाषाभाषीका चलचित्र प्रदर्शन हुनेछन् ।

यही वैशाख १७ गतेसम्म जमलस्थित राष्ट्रिय नाचघरमा चल्ने महोत्सवमा आदिवासी जनजाति चलचित्र प्रदर्शनसँगै ती चलचित्रसम्बन्धी छलफलसमेत चलाइने आयोजकको भनाइ छ ।

सञ्चारमन्त्री राईले संसारमा नेपालको सुन्दरता यहाँको विविधताले झल्काएको बताउँदै सबै नेपालीले एकअर्काको भाषामा बनेका चलचित्र हेरेर यहाँको मौलिकतालाई बचाउनुपर्ने बताउनुभयो ।

देशको बहुलतालाई बोक्न सक्ने चलचित्र नीतिको आवश्यकता औँल्याउनुहुँदै उहाँले भन्नुभयो– “यहाँका विविध भाषाभाषीलाई प्राथमिकता दिँदै चलचित्र बनाएर हाम्रो देशलाई संसारकै ‘चलचित्र हब’का रुपमा विकास गर्न सकिन्छ ।”