तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आठौं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार र आइतबार मेलवर्नमा सम्पन्न साधारणसभामा नवनिर्वाचित अध्यक्ष केशव कँडेलले पदभार ग्रहण गरे । नवनिर्वाचित कार्यसमितिको टिमलाई निवर्तमान अध्यक्ष टोनु घोतानेले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित कँडेलको टोलीलाई निर्वाचन प्रमुख आयुक्त मन केसीले सपथ दिलाएका थिए । केसी एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष हुन् । उनले सबै पक्ष मिलेर जानुपर्ने धारणा राखेका थिए । विभाजित भएर अघि बढे कोही सफल नहुने भन्दै उनले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
क्षेत्रीय संयोजक धर्मराज अधिकारीले लण्डन नेपाल न्युज डट्कम् सँग कुरा गर्दै ठूलो संस्थामा यस्ता सानातिना विवाद आइरहने बताए । अर्काले लिएको जिम्मेवारी सरल ठान्ने तर, त्यही जिम्मेवारी आफूमा आए महत्व दिने परिपाटी नेपाली समाजमा यथाबत् छ येस्लाइ सुधार गर्दै लैजानु पर्ने बताए । हरेक विवाद नेपाली माँझ छलफल गरेर सुल्झाउन सकिने तर सामाजिक संस्थामा बसेर राजनीति गर्न नहुने संयोजक अधिकारीको धारणा थियो ।

सपथ लिएपछि अध्यक्ष कँडेलले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘म सबैलाई समेटेर लैजाने छु ।’ अधिवेशनमा पुराना कार्यसमितिका महासचिव नारायण कोइरालाले संगठनको प्रतिवेदन र कोषाध्यक्ष अच्युत थपलियाले आर्थिक पक्षबारे सहभागीलाई जानकारी गराएका थिए ।
निवर्तमान अध्यक्ष घोतानेले नयाँ विधानअनुसार तयार पारिएको नियमावली अनुमोदनका लागि साधारणसभामा पेस गरेका थिए । विधान परिमार्जन गर्नुपर्ने भएकाले पास हुन सकेन । परिमार्जनको जिम्मा कार्यसमितिलाई दिने निर्णय गरिएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाका संघीय सांसद पिटर खलिल प्रमुख अतिथि थिए । यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई विशेष अतिथि बनाइएको थियो । कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष शेष घले, क्षेत्रीय संयोजक धर्मराज अधिकारीलगायतको कार्यक्रममा उपस्थिति थियो ।
दुई वर्षको अवधिमा अस्ट्रेलियामा रहेर नेपाली समाजको हितमा योगदान पु-याउने दर्जन विधाका व्यक्तित्व पुरस्कारले सम्मानित भए । उत्कृष्ट छात्रमा हिमप्रित गुरुङले विश्वविद्यालयतर्फ गोविन्द पौडेलले प्राप्त गरे । खेलतर्फ प्रसिद्ध पाण्डे, मोहन बम र प्रेम उप्रेती पुरस्कृत भए । एनआरएन विशेष अवार्ड प्रमेज श्रेष्ठलाई, विशेष पहिचान पुरस्कार रञ्जु थापा र एकेडेमी अवार्ड हिमालय सिंह, सुमन ओझा, हिमाल कँडेल र मोम विश्वकर्मालाई प्रदान गरियो ।
यसैगरी, अस्ट्रेलियाको नेपाली समाजको युवा वर्ष पुरस्कार विजय सापकोटालाई, एनआरएन वर्ष उपाधि सीताराम घिमिरे, उत्कृष्ट महिला पुरस्कार नेपाली कला संस्कृति साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेतलाई प्रदान गरियो ।
वर्षको उत्कृष्ट उद्यमी कलेज तथा रेस्टुरेन्ट व्यवसायी प्रेम सापकोटा र राज खनाल, सामाजिक सेवा वर्ष पुरस्कार बुद्धि डल्लाकोटी र भुवन खड्का र विभिन्न राज्य व्यक्तित्व वर्ष पुरस्कारमा मल्टी डाइनामिक रियल स्टेटका मेघराज पौडेल, क्यानबेराका जीवन राना, सिड्नीकी जानकी रिमाललाई प्रदान गरियो ।






