एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा कसरी गर्ने मतदान ?

सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन नजिकिँदै गर्दा निर्वाचन समितिले आफ्ना तैयारीका कामहरुलाई व्यापक बनाएको छ । प्रवासी नेपालीहरुको सबैभन्दा ठुलो संस्था मध्येको एक एनआरएनए अस्ट्रेलियाको जुलाई २९ तरिखमा निर्वाचन हुँदैछ ।

एनआरएनए अस्ट्रेलियाको निर्वाचनको तैयारी र मतदानका विषयमा निर्वाचन समितिले एक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनका विषयमा जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले पत्रकार सम्मेलन मार्फत निर्वाचनको तैयारी तथा प्रक्रियाका बारेमा जानकारी गराएका हुन् । एनआरएनएको चुनाव २९ जुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म अनलाईन मार्फत हुने उनले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।निर्वाचनको तैयारीका कामहरु व्यापक रुपमा अगाडी बढिरहेको भन्दै उनले यसपटकको निर्वाचनलाई विगतका भन्दा थप व्यवस्थित बनाईएको दाबी गरे ।

आगामी २०२३ -०२५ कार्यकालका लागि हुने निर्वाचनमा अस्ट्रेलियामा झण्डै १५ हजार मतदाताहरु सहभागी हुनेछन् । निर्वाचन आयुक्त घोतानेका अनुसार निर्वाचन समितिलाई चुनावको प्रभावकारीता र विश्सनियता बढाउन यसवर्ष निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाईएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आग्रह गरे । घोतानेका अनुसार निर्वाचन सुरु हुनुभन्दा १ घण्टा अगाडी साढे ८ बजेदेखि एनआरएनए अस्ट्रेलियाका आधारिकारिक सदस्यहरुको फोन नम्बरमा आधिकारिक लिंक आउने छ । उक्त लिंक मार्फत आफ्नो विवरण हेरेर फोटो खिचेर पठाईसकेपछि प्रमाणित गर्नुपर्नेछ । फोटो प्रमाणित भएपछि मात्रै मतदान गर्न पाउने उनले बताए । फोन या ल्याप्टपको प्रयोग गरेर भोट गर्न सकिने छ । सबैभन्दा पहिले उक्त लिंक ओपन गरेपश्चात फेसियल भेरिफिकेशन गर्नुपर्ने हुन्छ । त्यसपश्चात भोटिङ पेजमा गएर भोट गर्न सकिने आयुक्त घोतानेले जानकारी दिए । एउटा मोबाईल फोनबाट २ पटक मात्रै उक्त लिंक क्लिक गर्न पाउने व्यवस्था रहेको उनले बताए ।

सबै प्रक्रिया पुरा गरेर पनि सदस्यहरुको विवरणमा समस्या आएमा वा प्रमाणित नभएमा एनआरएनए अस्ट्रेलियाले ८ वटै राज्यमा निर्वाचन आयुक्त रहेको र सम्बन्धित व्यक्तिहरुसंग सम्पर्क गरेर आवश्यक परेमा आफ्ना सुझाव र समस्याहरु राख्न सकिने उनले बताए ।