सिड्नी । अष्ट्रेलियाका विभिन्न सहरहरुमा नेपाली कला संस्कृति झल्काउने गरी सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको छ ।
केविसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न सात शहरमा अष्ट्रेलिया टूर २०७९ सुरु भएको हो । नेपाली चर्चित कलाकारहरुको साथमा हरितालिका तीज तथा अन्य नेपाली संस्कृतिको जगेर्ना गरी विभिन सहरमा कार्यक्रम हुने छन् ।
२१ जुलाई बिहिवार देखि सुरु भएको उक्त कार्यक्रममाा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दिपक आचार्य काकुले आफ्नो प्रस्तुती दिएका छन् । पहिलो कार्यक्रम पर्थमा भएको थियो भने उक्त टोलीले विभिन्न स्थानमा हुने कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । पर्थको कार्यक्रमलाई वी केयर नेपालले आयोजना गरेको थियो ।
यस लगत्तै यो टोलीले तास्मानियाको लन्चेष्टनमा आफ्नो प्रस्तुति दिनेछ । लन्चेष्टनको म्याक्स फ्राई हलमा हुने कार्यक्रमको सम्पूणर् तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रमलाई लिएर लन्चेष्टनको नेपाली समूदायका साथै नेपाली भाषी भुटानी समूदाय पनि निकै उत्साही छन् ।
उक्त कार्यक्रममा नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र पछिल्लो समय चर्चामा आउन सफल गायिका रचना रिमालको प्रस्तुती विशेष रहने बताईएको छ । उक्त कार्यक्रम पश्चात ब्रिसबेनमा ३० जुलाई शनिबार अर्को कार्यक्रम हुने छ । क्वीन्सल्याण्ड नेप्लीज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा मौलिक तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गन्जिने आयोजक केविसी अष्ट्रेलियाले जनाएको छ ।
अष्ट्रेलिया टूरको संयोजन समेत गरिरहेका केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले ब्रिसबेनको नेपाली समूदायको माया पहिलो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी गायिका रचना रिमालले पाउने आशा व्यक्त गरे । यस्तै पशुपति शर्मा लगायतका कलाकारहरुलाई यसअघि मिल्दै आएको साथ यस पटक पनि प्राप्त हुने अपेक्षा उनको छ । ‘ब्रिसबेनमा हामीले सबै समूदाय एकै ठाउँमा आएर, एकताबद्ध भएर आफ्नै सामूदायिक केन्द्र बनाउने अभियानमा एउटै मात्र भएपनि ईंटा थपौं भन्ने उद्देश्यका साथ हातेमालो गरेका हौं ।’ उनले भने ।
यसपछि मेलबर्नमा अगष्ट १ तारिख सोमबार गुल्मी समाज भिक्टोरिया, केइसी नेपाली समाज लगायतको आयोजनामा अकोना पार्क सेन्टरमा तीज धमाका २०७९ हुनेछ । मेलबर्नको पूर्वीक्षेत्रमा बसोबास गर्ने धेरै नेपालीको सहभागिता यसमा हुने अपेक्षा आयोजकको छ । यस लगत्तै नेपाली कलाकारहरुको टोलीले ४ तारिख क्यानबेरामा कन्सर्ट हुनेछ । डीबोइज ईभेन्टसको संयोजनमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा तीज धमाका कार्यक्रम निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली कार्यक्रम पनि यहाँ बाक्लै भइरहेका छन् ।
यसपछि सिड्नीमा तीज मेला विथ कमेडी नाईट्स अगष्टको ६ तारिख शनिबार हुनेछ । फन्टाष्टिक ईभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ । सिड्नीमा यो नै तीजको पहिलो भव्य कार्यक्रम बन्ने अपेक्षा गरिएको छ । यसपछि अगष्टको ८ तारिख सोमबार एडिलेडमा तीज धमाका २०७९ हुनेछ । जसलाई गिरिश ईभेन्टसले संयोजन गरेको छ । डोम पोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अष्ट्रेलिया टूर सम्पन्न हुनेछ ।
धमाका २०७९ अष्ट्रेलिया टूरलाई ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ । विभिन्न शहरमा आयोजना हुने कार्यक्रमका लागि स्थानीयस्तरमा विभिन्न व्यवसायिक तथा गैरनाफामूलक संघसंस्थाहरु समेत सहयोग गरेका छन् ।






