धादिङ समाज अस्ट्रेलियाले मनायो स्थापना दिवस

सिड्नी । धादिङ समाज अस्ट्रेलियाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ । संस्थाले सेप्टेम्बर ३ तारिखलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

आफ्नो स्थापना भएको दिनको अवसर पारेर ३ सेप्टेम्बरमा सिड्नी ओलम्कि पार्क स्पोर्टस हलमा ब्याडमिन्टन कार्यक्रम सम्पन्न गरेको समाजले जनाएको छ ।

२०१३ सालमा संस्थाको स्थापना भएपनि औपचारिक रुपमा २०१५ देखि विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको समाजले विगतका केही वर्षहरुमा स्थापना दिवस मनाउन नसकेपनि यस वर्ष खेलकुदको कार्यक्रम आयोजना गरि तेश्रो स्थापना दिवस मनाएको समाजका अध्यक्ष अर्जुन केसीले जानकारी दिए ।

हरेक वर्ष फरक फरक कार्यक्रम आयोजना गर्दै आएको समाजले यो वर्ष परोपकारी, सांस्कृतिक र सामाजिक सबै क्षेत्र तथा विद्यार्थी र अन्य खेलप्रेमी महानुभावलाई जोड्ने गरी खेलकुद कार्यक्रमको आयोजना गरेको उनले बताए ।

 समाजले हालसम्म गरेका विभिन्न कार्य तथा कार्यक्रमको समिक्षा गर्दै नयाँ कार्यक्रमहरुको योजनाका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका अभिभावक, नेपाली विद्यार्थी, धादिङ समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा समाजले दशैँ तिहारको अवसरमा भव्य कार्यक्रम गर्ने समेत निणर्य गरेको छ । सोही अवसरमा संस्थाका पूर्व अध्यक्षहरु किरण अधिकारी र सविन थपलियाले पुर्याएको योगदानको प्रशसां गर्दै समाजका वर्तमान अध्यक्ष केसीले कदर पत्र प्रदान गरेका थिए ।