बजेटप्रति माओवादी आलोचना

UCPN-Maoist-flagकाठमाडौँ- नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसदमा शनिबार प्रस्तुत आगामी आवको बजेट वक्तव्यको आलोचनात्मक समर्थन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको सो दलको बैठकमा बोल्ने सांसदहरुले सत्ता साझेदार दलसँग जुनरुपमा समन्वय गर्नुपर्ने हो सो नगरीकन बजेट ल्याएको भन्दै आलोचना गर्नुभयो ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आफूहरुसँग जुनरुपमा संवाद र सल्लाह गर्नुपर्ने हो सो हुन नसकेको र आफूखुसी परियोजना तथा कार्यक्रम बजेटमा राखेर सत्तासाझेदार दलको भावनालाई आत्मसात् गर्न नसकेको उहाँहरुको कथन थियो ।

प्रदेशहरुमा एक÷एक वटा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम बजेटमा आएपनि अन्ततः झापा र बुटवललाई नै केन्द्रित गरिएको, जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता नागरिकलाई सुविधा दिने भनिए पनि मूर्त नभएको, अयोग्यको नाममा शिविरबाट निकालिएका लडाकुको विषय मौन रहेको भन्दै सांसदले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।