लन्डनमा केटिएम ट्राभलद्वारा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा नवयुवा विजयी

शिब भण्डारी ।

लन्डन ।बेलायतको नेपाली समुदायमा खेल गतिविधिले पनि तीव्रता पाएको छ । बेलायतमा पहिलोपटक आयोजित ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता २०१९’ सम्पन्न भएको  हो ।

लन्डनस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा गत आइतबार लण्डनको साउथहल स्थित लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा भएको उक्त खेलमा कुल ६ टिमलाई दुई समूहमा विभाजन गरि खेलाइएको थियो । प्रतियोगितामा ब्रिगेड अफ गोर्खाज, टेन क्यूओजीएलआर, गोर्खाज कन्सट्रक्सन ह्यारो , डाँफे क्रिकेट क्लब ग्रिनफोर्ड, हिमालयन क्रिकेट क्लब र नवयुवा क्रिकेट क्लबले प्रतिस्पर्धा गरेका थिए ।

पहिलोपल्ट भएको ‘ब्रिटिस नेप्लिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिताको उद्घाटन नेपालका पूर्व राष्ट्रिय खेलाडीहरु सुरेश वैद्य, सुरज कार्की,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री,फिटनेश प्रशिक्षक मनोज बस्नेत लगायतले गरेका थिए ।

 

उद्घाटन समारोहमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङ तथा कार्यक्रममा प्रायोजकका तर्फबाट खुकुरी बियरका महन्त श्रेष्ठ, पिपल स्टेट एजेन्टका सूर्य गुरुङ, योर ड्राइभिङ स्कुलका होमराज बिष्ट, गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराई ,केण्टन सोलिसिटरका रोजन भण्डारी ,रेड मोबाइलका रिचार्ड किली,गोर्खा किचनका अन्दिप आचार्य ,पासा पुचः यूक अध्यक्ष ओजेश सिंह,लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ लगायत थिए ।

इभेन्ट डिरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडी र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि थियो, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ भएको भन्दै खेलाडीलाई बधाइ दिंदै बेलायतमा रहेका युवालाई प्रोत्साहन गर्न प्रतियोगिता गरिएको जनाए । टुर्नामेन्ट निर्देशक विनोदविकास सिम्खडाले आफूहरुको पहिलो प्रयास सफल भएको बताए ।

लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा भएको मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा खेलको उपाधि भने नवयुवा टिमले जितेको छ ।

च्याम्पियन बनेर नव युवाले १५ सय पाउण्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारे । विजयी टिमलाई सांसद वीरेन्द्र शर्मा, दूतावासका लव सुवेदी,एनआरएन युकेका उपाध्यक्ष प्रेम गाहा मगर,व्यवसायी रबिजंग लामिछाने लगायतले ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरे ।

दुवै खेल जितेर ग्रुप एबाट फाइनलमा पुगेको थियो नव युवा । ग्रुप बीबाट तीनै टिमले एक एक खेल जितेर समान अंक भएपछि नेट रन रेटको आधारमा बिग्रेड अफ गोर्खाज टिम फाइनलमा पुगेको थियो । लिग चरणका खेलमध्ये समूह बी अन्तर्गत दुई ब्रिटिश आर्मीबीचको खेल रोमाञ्चक भएको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिंदा खेलाडी रनआउट भएपछि ब्रिगेड अफ गोर्खाजले खेल हार्न पुगेको थियो । आठ ओभरको सो खेलमा ८५ रन टार्गेट पाएको ब्रिगेड अफ गोर्खाजले उक्त खेल हारेपनि उच्च रनरेटको आधारमा फाइनलमा प्रवेश पाएको हो ।

खेलहरुमा औसतमा ७५ रन बनेपनि फाइनलमा भने दुवै प्रतिद्वन्द्वी दवावमा देखिन्थे । टस जिती पहिलो ब्याटिङ गरेको ब्रिगड अफ गोर्खाजले चार विकेटको क्षतिमा जम्मा ५० रन बनाउन सफल भएको थियो । उक्त लक्ष्यलाई पछयाउंदै नव युवा क्रिकेट क्लवले ११ बल बांकी रहंदा तीन विकेटको क्षतिमा विजय हासिल गर्दै उपाधि जित्न सफल भयो । प्रतिगोगितामा उत्कृष्ट खेलाडी बने नव युवाका सुमन श्रेष्ठ । उनले लिग चरणका दुईवटा खेलमा म्यान अफ द म्याच र फाइनलमा पनि म्यान अफ द म्याच उपाधि जिते । प्रतियोतिाभरिनै अल राउण्ड प्रदर्शन गरेका उनले खेलेका तीनै खेलमा नट आउंदै रहंदै कुल ८३ रनको योगदान दिएका थिए । साथै बलिङतर्फ पनि उनले तीन विकेट लिए । विजयी टिम नव युवाका क्याप्टेन गम गुरुङले आफूहरुले यस्तो प्रतियोगिता पहिले पनि खेलेकाले रणनीति तय गर्न सहज भएको र जितका लागि महत्वपूर्ण बनेको बताए । खेल सञ्चालन इंग्ल्याण्ड क्रिकेट बोर्डबाट मान्यता प्राप्त दुई अम्पायरद्वारा सञ्चालन गरिएको थियो ।

प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गरेका थिए ।

सो अवसरमा खाना स्टल, डिजे, बाउन्सी क्यासल आदिमा दर्शक रमाएका देखिन्थे । खादा माला र सम्मान बिना नै सुरु गरिएको कार्यक्रम सफल बनाउन टिम डिरेक्टर विक्रम गुरुङ, अपरेसन निर्देशक अभिषेक भट्टराई लगायत स्वयंसेवकहरुको महत्वपूर्ण योगदान थियो । दर्शकलाई निःशुल्क प्रवेश व्यवस्था भएको खेलमा आयोजकले साना ठूला सबै २१ प्रायोजकहरुप्रति आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *