१४२ यात्रु बोकेको विमान दुर्घटना

लण्डन, १० चैत । फ्रान्समा एअरबस ‘ए ३२०’ विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी एल्प्स पर्वत श्रृंखलाको बार्सिलोन्ने र डिनीको बीचमा दुर्घटना भएको विमानमा चालक दलका ६ जनाका अतिरिक्त १४२ जना यात्रु सवार थिए । राष्ट्रपति फ्राँस्वाँ ओलान्डले दुर्घटनामा परेका सबै १४८ जना जीवित रहने सम्भावना कम रहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार स्पेनको बार्सिलोनाबाट जर्मनीको डसलडोर्फ जाँदै गरेको यो विमान जर्मनी एअरलायन लुफ्थान्साको सस्तो एअरलायन सेवा जर्मनविंग्सको हो । दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला परेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । विमानमा ४५ जना स्पेनिस नागरिक रहेको बताइएको छ ।