उम्मेदवारको मनोनयन हुन ४ दिन बाँकी, किन अझै टुंगिएनन् दलहरुका उम्मेदवार ?

काठमाडौं– मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावको मनोनयन गर्ने समय चार दिन मात्रै रहँदा पनि प्रमुख दलहरुले आफ्ना उम्मेद्वार टुंग्याउन सकेका छैनन् ।
चुनावकै मुखमा विकसित राजनीतिक घटनाक्रमले उम्मेद्वार मनोनयन प्रक्रिया प्रभावित हुने आंशका समेत बढेको छ ।

अर्कोतिर पार्टीहरुवीच चुनावी गठबन्धनको कसरत भएका छन्, यसले पनि क्षेत्र बाँडफाँडसँगै उम्मेद्वार छनौटमा ढिलाई भएका छन् । एमाले र माओवादी मिलेर बामगठबन्धन बनाएका छन् भने काँग्रेसले आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्य गरिरहेको छ ।
तर, दलहरुमा टिकटका आकांक्षी धेरै भएपछि समस्या भएको छ । त्यसबाहेक पार्टीभित्रका गुटहरुको व्यवस्थापन पनि उम्मेद्वार छनौटमा समस्या बनेको देखिएको छ ।

पहिलो चरणमा देशका ३२ जिल्लामा केन्द्र र प्रदेशको चुनाव हुँदैछ । यसका लागि कार्तिक ५ गते मनोनयनको मिति तय गरिएको छ । तर, अहिलेसम्म काँग्रेसले केही जिल्लामा बाहेक अरु ठूला दलले आफ्ना उम्मेद्वार टुंगो लगाएका छैनन् ।

पहिलो चरणमा प्रदेश नम्वर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्वर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदश नम्वर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्वर ५ का रुकूम पूर्वीभाग र रोल्पा, प्रदेश नम्वर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदश नम्वर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा चुनाव हुँदैछ ।

मनोनयनका लागि समय केही दिनमात्र वाँकी रहेपनि दलहरुले भने उम्मेद्वार टुंगाउन सकेका छैनन् । बरु दलहरु अहिले उम्मेद्वार टुंगाउने कसरतमा छन् । तर, आन्तरिक विवादले दलहरु अफ्ठ्यारोमा छन् ।

काँग्रेसद्वारा सात जिल्लाका उम्मेदवार चयन, वाँकी टुंगाउने कसरत जारी
काँग्रेस संसदीय बोर्डको हिजो बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको थियो ।

 

बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) नाम टुंग्याएको छ ।

यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) नाम टुंग्याएको छ ।

त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनोट भएका छन् ।
अन्य जिल्लाका उम्मेद्वारको नाम टुंग्याउन काँग्रेसले आज पनि संसदीय बोर्डको वैठक बोलाएको छ ।
एमालेको आवसीय वैठक जारी
एमालले उम्मेद्वारको टुंगो लगाउन हिजोदेखि आवसीय वैठक बोलाएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले हिजो साँझ जारी गरेको विज्ञप्ती अनुसार निर्वाचन क्षेत्र बाँडफाँड र घोषणा पत्र निर्माणको कामलाई एक दुई दिनभित्र टुंग्याइने उल्लेख छ । यहीँ वैठकले पार्टीका तर्फबाट प्रदेश र केन्द्रका चुनावका लागि उम्मेद्वारको नाम टुंगाउनेछ ।

माओवादी पनि आन्तरिक छलफलमा
प्रदेश र केन्द्को चुनावमा एमालेसँग तालमेल गर्ने निर्णय गरेको माओवादी पनि उम्मेद्वार छनौटको आन्तरिक छलफलमा व्यस्त छ ।
एमालेसँग पहिला क्षेत्र बाँडफाँड टुंगाएपछि उम्मेद्वार छनौट सहज हुने भन्दै माओवादीले ढिला गरेको छ । एमाले र माओवादीले टिकट बाँडफाँड कार्यदल बनाएका छन् ।
कार्यदलसँग परामर्श गरेर उम्मेद्वार छनौटको गृहकार्य भैरहेको माओवादी नेताहरुले जनाएका छन् ।
एमाले र माओवादीवीच केन्द्र र प्रदेशको चुनावमा ६० र ४० प्रतिशत टिकट बाँडफाँड गर्ने सहमति भएको छ ।