काठमाण्डौ २२ मंसिर । वितेको २४ घण्टाभित्रमा भएका विभीन्न दर्घटनामा २४ जनाको मृत्यू भएको छ । सुर्खेत, मकवानपुर र काठमाण्डौमा भएका दुर्घटनामा २४ जना मारीएका हुन् ।
मकवानपुर जिल्लाको सिस्नेरी– ५ मा आज सोमबार मध्यान्ह टाटासुमो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौडातर्फ गइरहेको ना १ ज २४६७ नम्बरको टाटासुमो जिप सडकबाट झण्डै १ सय ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ । दुर्घटनामो ५ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार पछि राजधानीमा थप उपचारका लागि ल्याइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यस्तै कालिकोटबाट टीकापुरका लागि छुटेकोे ना ४ ख ६८५७ नम्बरको यात्रु बाहक बस कर्णाली राजमार्गको सुर्खेत पोखरीकाँडा कालोखोलामा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १८ जना पुगेको छ भने ४९ जना यात्रु घाइते भएका छन् । कर्णाली राजमार्गको ४२ किलोमिटर खण्डमा पर्ने सुर्खेतको पोखरीकाँडा– ९ कालेखोलामा आइतबार साँझ भएको बस दुर्घटनामा परी घाइते हुनेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई वीरेन्द्रनगरबाट गएको एम्बुलेन्सले उद्धार गरी उपचारका लागि क्षेत्रीय अस्पताल पु¥याएको थियो ।
बसमा क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएको हुनसक्ने क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये १० जनालाई नेपालगन्ज उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा परि मृत्यु हुनेमा अधिकांश बाजुरा जिल्लाका रहेका छन् । बस सहयोगीले गाडी चलाएको र क्षमताभन्दा बढी यात्रु चढेका कारण बस दुर्घटना भएको घाइतेले बताएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परि बाजुराको गोत्री गाविसका लालवीरे दर्जी, दुर्ग विष्ट, दिल सार्की, लाल दर्जी, मनराज विष्ट राम दर्जी, पंखे सार्की र पणे सार्कीको मृत्यु भएको छ । यसैगरी बस चालक सुर्खेत छिन्चुका मीनबहादुर बुढा र सहयोगी भवी खत्रीको पनि मृत्यु भएको छ भने आठ जनाको सनाखत हुन बाँकी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
यसैगरी आईतबार साँझ नै राजधानीको बबरहमलामा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक एक युवतीको मृत्यु भएको छ । पुरानो बसपार्कबाट घुलिखेलतर्फ जाँदै गरेको बा २ ख ३७ नम्बरको मिनिबसले सोही दिसातर्फबाट आइरहेको बा ६३ प ४३२४ नम्बर स्कुटरलाई ठक्कर दिँदा स्कुटर उछिट्टिएर बसमुनि पुगेको थियो।
ठक्करका कारण गम्भिर घाईते स्कुटी चालक २१ वर्षिया शान्ता हमाल माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यू भएको थियो । बसका चालक रवीनकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी सन्तोष खड्काले बताउनुभयो ।






