बलात्कारीलाई कडा कारबाही

काठमाडौं, १० चैत । महिला सभासद्हरुले महिला तथा बालबालिकामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गर्नुभएको छ । पूर्व महिला सभासद् मञ्चले आज यहाँ आयोजना गरेको ‘प्रस्तावित फौज्दारीसंहिता तथा महिला हिंसा र बलात्कारसम्बन्धी दण्ड सजाय’ विषयक अन्तरक्रियामा महिला सभासद्हरुले मानवताविरोधी अपराधका रुपमा रहेको बलात्कारका दोषीलाई कडा कारबाही गर्न संविधानसभामा आफूहरुले जोडदार रुपमा सो मुद्दालाई उठाइरहेको बताउनुभयो ।
नेकपा(एमाले) का उपाध्यक्ष एवम् सभासद् अष्टलक्ष्मी शाक्यले बलात्कारजस्तो अपराधकाविरुद्व ११ पार्टीका महिलाले संविधानसभामा सङ्कल्प प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले राजनीतिक पार्टीले नै महिलालाई सम्मानजनक व्यवहार गर्न नसकेको भन्दै राजनीतिक दल महिलामैत्री हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो ।
एमाओवादीका नेत्री हिसिला यमीले अन्तर्राष्ट्रिय सन्धिलाई पुनरावलोकन गरेर भएपनि १६ वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई फाँसीको सजाय गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेत्री पुष्पा भुसालले सङ्क्रमणकाल लम्बिँदै जाँदा बलात्कारजस्ता घटना पनि बढ्दै गइरहेको र बलात्कार जस्तो अपराध क्षमायोग्य नहुने उल्लेख गर्नुभयो ।
अधिवक्ता मीरा ढुङ्गानाले अपराधीलाई ठूलो सजाय दिएर मात्र अपराध नघट्ने भएकाले अपराधको कारण खोजिनुपर्नेमा जोड दिनुभयो । नेपालको पछिल्लो तथ्याङ्क हेर्ने हो भने बलात्कारका घटना बढ्दै गइरहेको देखिन्छ । नेपाल प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६८÷०६९ मा ५५५ वटा बलात्कारका घटना भएका थिए । यस्तै २०६९÷७० मा ६७७ जना र २०७०÷७१ मा ९१२ महिला तथा बालिका बलात्कृत भएका थिए ।