सामान्य प्रशासनको ३९ बुँदे सोचपत्रमा के छ ?

Rekha-Sharmaकाठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक प्रशासनलाई नतिजामुखी, जनमुखी, उत्तरदायी र सदाचारयुक्त व्यावसायिक समय यन्त्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको ३९ बुँदे सोचपत्रमा उपलब्ध ज्ञान, सीप र क्षमताको पूर्ण उपयोग गरी सम्मानयुक्त र भरोसायोग्य संयन्त्र बनाउँदै निजामती प्रशासनलाई जनताप्रति विश्वसनीय तुल्याउने उल्लेख छ ।

विद्यमान समस्याको समाधान गर्ने र जनताको सहज पहुँचमा सेवा प्रवाह तथा विकास निर्माणमा चुस्तता र प्रभावकारीता प्रदान गर्ने स्थायी संयन्त्रका रुपमा प्रशासन सेवालाई पूर्ण व्यावसायिक बनाउने प्रतिबद्धता सोच पत्रमा व्यक्त गरिएको छ ।

मन्त्रालयले प्रतिबद्धता पूरा गर्न दूरदृष्टि, सङ्घीयता र सङ्क्रमणकालीन व्यवस्थापन, प्रशासनिक पुनःसंरचना, सेवा प्रवाहमा सुधार, सेवा प्रदायकको सुरक्षा, सुविधा र क्षमता विकास तथा रणनीतिक सञ्चार कार्यक्रमलाई अघि बढाउने भएको छ ।

त्यस्तै सेवा प्रदायक संस्थाको अनुगमन, सरुवा तथा काज प्रणालीको कार्यान्वयन तथा परिपालना, ट्रेड युनियनको व्यवस्थापन, संस्थागत सुदृढीकरण र सुशासन कायम गर्न नागरिक तथा सरोकारवालाको सहयोग संलग्नताको अपेक्षा उक्त सोच पत्रमा उल्लेख छ ।

सो अवसरमा मन्त्री रेखा शर्माले सोचपत्र कार्यान्वयको निम्ति अधिकतम प्रयत्न हुने जानकारी दिँदै मन्त्रालयको सङ्ख्या भने परिस्थितिको बाध्यताका कारण बढाउनु परेको हो भन्नुभयो ।

उहाँले निजामती प्रशासनका बारेमा उठेका अनेकौँ टीका टिप्पणीलाई सम्बोधन गर्दै निजामती प्रशासनलाई समयानुकूल व्यवस्थित गर्दै लैजान सन्र्दभमा प्रणालीगत आधारमा कार्यसम्पादन गर्ने कार्यशैली अपनाइने बताउनुभयो ।

काजमा खटाएका कर्मचारीलाई फिर्ता ल्याउने कार्यलाई पछिल्लो समय मन्त्रालयले दृढताका साथ प्रयास गरिरहे पनि सोचेअनुरुप परिणाम भने निस्कन बाँकी रहेको मन्त्री शर्माले उल्लेख गर्नु भयो ।