काठमाडौं, चैत ९ – बिएससी पढेर डाक्टर बन्न भन्दै १५ वर्षअघि रौतहटबाट काठमाडौं आएका गजेन्द्र ठाकुर अहिले नाई अर्थात कपाल काट्ने काम गर्नुहुन्छ । व्यवसायसँगै उहाँ विभिन्न संघ–संस्थामा समेत आवद्ध हुनुहुन्छ ।
नाई संघ, पिछडा वर्ग महासंघ, गुड नेपाल डेभलप्मेन्ट एण्ड रिसर्च सेन्टर लगायत संस्थाका अध्यक्ष समेत रहेका ठाकुर पढेर सानो काम गर्नु हुँदैन भन्ने सोचाई भएका युवालाई एउटा गतिलो पाठ सिकाउने ठाउँमा पुग्नुभएको छ । बिएससी पढ्दै गर्दा नाई अर्थात् कपाल काट्ने काम थालेका ठाकुर आफ्नो पेशाबाट निकै सन्तुष्ट हुनुहुन्छ । आर्थिक अभावका कारण पढाई पूरा गर्न नसकेपछि उहाँले ललितपुरको नख्खु दोबाटोमा नाई अर्थात कपाल काट्ने काम थाल्नुभएको हो ।
साथीहरुसँग रकम सापट मागेर सुरु गरेको यो पेशा अहिले आम्दानीको गतिलो माध्यम बनेको छ । ‘यो पेसाबाट दैनिक आठ/नौ सय रुपैयाँ कमाइ हुन्छ, परिवार पालेको छु’ उहाँ भन्नुहुन्छ, ‘विदाको दिनमा १५ सय, दुईहजार रुपैयाँसम्म कमाउँछु । म मेरो पेसाबाट सन्तुष्ट छु ।’
उहाँको इच्छा डाक्टर बन्ने थियो । तर आर्थिक अभावले पढाइ बिचमै छाड्नुपर्यो । ‘ल्याव असिस्टेन्ट पढियो’ उहाँले विगत सम्झनुभयो, ‘जिल्लाकै गौर अस्पतालमा निःशुल्क काम गरें, पछि काठमाडौंको सिएन कम्युनिटी अस्पतालमा काम गरेँ । तलव थोरै हुन्थ्यो, खर्च पुग्दैनथ्यो । त्यतिबेला हाम्रो समुदायका व्यक्तिलाई हेपिन्थ्यो । पछि मैले अस्पतालको काम छाडेर आफ्नै पुर्खौली पेशा थालेँ ।’ पुर्ख्यौली काम अर्थात कपाल काट्ने पेशामा फर्किएपनि उहाँ डाक्टरले जस्तै सल्लाह दिनुहुन्छ । ‘म डाक्टर बन्न त सकिन, तर पनि म सानो डाक्टर बनेको छु जस्तो लाग्छ’ ठाकुरले प्रष्ट पार्दै भन्नुभयो, ‘यहाँ कपाल काट्न डाक्टरहरु आउनुहुन्छ, उहाँहरुले सोध्नुहुन्छ मेरो कपाल झर्यो पातलो भयो कसरी उम्रिन्छ भनेर, म मेरो अनुभव अनुुसार सल्लाह दिन्छु ।’
‘पढेर सानो काम गर्नु हुँदैन भन्ने मान्यता गलत हो’ ठाकुर भन्नुहुन्छ, ‘त्यसमाथि कुनै पनि काम सानो र ठूलो भन्ने हुँदैन ।’ पढेर काम पाइएन भन्दै निराश हुनुभन्दा आफूले जानेको र गर्न सक्ने पेशा, व्यवसाय थाल्न उहाँको सुझाव छ । मदन पौड्याल/उज्यालोबाट।






