बिदेशमा धन स्वदेशमा मन

 

फडिन्द्र भट्टराई

नेपालमा गुल्मीको एउटा गरिब रजाली परिवारका अधबैंसे युवकको दुवै मृगौला फेल भए। परिवारकै सदस्यले मृगौला दिन तयार हुँदा पनि ट्रान्सप्लाण्ट गर्न खर्च नभएर त्यतीकै भयो। अस्पतालको शैय्याबाट जीवन बचाइदिने अनुरोधको समाचार स्थानीय पत्रिकामा छापिएपछि उनको समस्या बेलायतमा उनकै  एक गाउँलेले फेसबुकमा राखिदिए।

गाउँ ठाँउको मान्छेलाई बिपत पर्दा सघाउनु पर्छ भन्ने कुराले बेलायतमा रहेका जिल्लावासीहरुको नेटवर्कमा ठाउँ पायो । फेसबुकमा समस्या बनेर छिरेको उनको खबर आपसी संकलनमा करिब साढे तीन लाख रुपैयाँको राहत बनेर निस्कियो। अन्य देशमा पनि खर्चको जोहो गर्न समन्वय भई रहेको छ। उपचार खर्च कतैबाट आई लाग्ला र जीवन पाउला  भन्ने उनको सपना अब बिपनामा परिणत भएको छ।

gadi

केही समय पहिले तीन जना बच्चा सहित शौचालयमा वास बस्दै आएकी ज्ञानी परियार नामकी बेसहारा  एकल महिलालाई यिनै बेलायती गुल्मेलीहरुले घर बनाइ दिए।

बेलायती नेपाली समुदाय माझ समाजसेवामा अग्रणी नाम बनाएको गुल्मी जिल्ला समाज युकेले २००७मा स्थापना भए पश्चात यो संस्थाले जिल्लामा मात्रै डेढ करोड भन्दा बढीको सहयोग पठाई सकेको छ। बेलायतवासी गुल्मेलीहरुको यो संस्थाले दिएका चार वटा एम्बुलेन्स अहिले जिल्लाका बिभिन्न दुर्गम स्थानमा बिरामी बोकेर दौडिन्छन्। बिभिन्न स्कुल क्याम्पस र स्वास्थ्य केन्द्रहरुमा पनि सहयोग पुगेको छ।

ग्रामिण भेगका अपाङ्ग बाल बालिकाको उपचार तथा पुनर्स्थापनामा समर्पित आशा अपाङ्ग केन्द्र गुल्मीलाई प्रत्येक वर्ष बेलायतमा च्यारिटि कार्यक्रम गरेर उल्लेख्य रकम सघाउने गर्छ। समाज मार्फत शैक्षिक छात्रबृतिहरु सञ्चालन भई रहेका छन । गुल्मीमा मात्र होइन सुदूर पश्चिमका बाढी पीडितदेखी लिएर सोलुखुम्बुको हेल्थ सेन्टरसम्म सहयोग पुर्‍याएको छ यो संस्थाले। यस्तै यस्तै र अनेक यसका सह्रानीय  कार्यको फेरहस्ती निकै लामो छ । राजनीति तथा  जातियताको गन्धबाट अहिलेसम्म अछुत रहन सकेको बेलायतका गुल्मेलीहरुको यो  साझा मञ्चले आफ्नो कामले नाम कमाएको छ ।

‘प्रस्तावित परियोजनाको कुरा आउना साथ प्रार्थमिकताको छलफल र निर्णय प्रकृया टुङ्ग्याए पछी हाम्रो संस्थाका मेम्बरहरुलाई  सहयोग गर्न अनुरोध गर्दै ईमेल छोडीदिन्छौ,’ संस्थाका वर्तमान अध्यक्ष अर्जुन गौतम  सहयोग प्रकृया बारे प्रस्ट्याउँछन्।

‘त्यसपछि समाजको खातामा सदस्यहरुले जम्मा गरेको रकम नै सहयोग बनेर नेपाल पुग्छ’ सहयोगको कुनै छुट्टै कोष नभएको बारे उनी थप्छन।  संस्थाका करीब अढाई सय लाईफ मेम्बरहरु छन भने करीब एक हजार साधारण सदस्यहरू।

‘यहाँस्थित विभिन्न क्षेत्रका संघ संस्थाले नेपालका स्थानीय तहमा ठूलो भूमिका खेलेको कुरा बताउँछन्   बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री। ‘नेपालका पचहत्तरै जिल्लाबाट बेलायतमा बस्ने व्यक्तिहरु यसरी संस्थागत संजाल मार्फत क्रियाशील बन्दै काम गर्ने सिको गर्न सके देशलाई समाज रुपान्तरणको सवालमा धेरै फाइदा पुग्थ्यो’, यो संस्थाको कामको मुक्तकण्ठले प्रशंशा गर्दै  उनले भने।

उनी मात्रै होइन सामाजिक रुपमा बेलायतमा क्रियाशील जो कोहि पनि गुल्मेलीहरुको यो संस्थाको प्रशंसक रहने गरेको छ।

‘कुरा गर्ने संस्था धेरै छन् हामी सुरुवाती दिनदेखि नै काम गरेर देखाउने तर्फ केन्द्रित छौ,’ संस्थापक अध्यक्ष ओम प्रसाद थापाले भने। उनकै पहलमा नेपाली परम्परागत नौमती बाजा बेलायतमा पहिलो पटक भित्र्याएर लण्डनका गल्लीमा पन्चे बाजा घन्काउने कामको सुरुवात भएको हो।

‘नेपाली संस्कृतिको प्रवर्धन त भयो नै हाम्रा नया पुस्ताका नानीहरुलाई नेपाली कल्चरसँग जोडेरै राख्न पनि नौमती बाजाको महत्व छ,’थापाले भने। अहिले बेलायतमा नेपालीले गर्ने  बिवाह तथा  अन्य पर्वमा नौमती बाजा नबजेको बिरलै भेटिन्छ।

यही गुल्मेली समाजको आयोजनामा हुने बार्षिक समर भेटघाट कार्यक्रम त विशिष्ट प्रकृतिको नै हुने गर्छ । नौमती बाजा, स्थानीय सालै जो झ्याउरे, भजन चुट्कादेखि लिएर बिबिध नाच गान लगाएतका सांस्कृतिक कार्यक्रमसहित खुला आकाश मुनिको बार्बेक्यू अर्को बर्ष सम्मै सम्झिन लायकको हुन्छ।

प्रत्येक बर्ष गरिने यस्तो बिशुद्द मनोरन्जनात्मक कार्यक्रममा गतबर्षको जमघटमा मात्र  पन्ध्र सय भन्दा बढी मान्छे सहभागी थिए। यसबाट बचेको पैसा पनि नेपालमा परोपकारी कार्यमै खर्चिने परम्परा रही आएको छ ।

बिदेशमा बग्रेल्ती खुल्ने गरेका खोले टोले सबै संघ संस्थाहरुले आकशपसी झैँ झगडाको बिकार बोकेर आफै शिकार बन्नु भन्दा यस्तै क्रियामुखी उपकार तर्फ लाग्न सके देशमा समाज परिवर्तनको एउटा हिस्सा बिदेशमा बसेर पनि बन्न सकिनेमा दुई मत हुन सक्दैन।

नाम र पदको लागि संस्था खुल्नु र खादा माला लगाएर मात्रै कार्यकाल सकाउनु भन्दा सबैले आ आफ्नो ठाउँबाट यसैगरी संगठित रुपमा सक्रिय बनेर स्थानीय तहबाटै  सक्दो सहयोग गर्न सके बिदेशी धनको फाइदा थुप्रै नेपाली मनहरुले लिन सक्ने थिए।

बेलायतमा मात्रै नेपालीहरु संग सम्बद्द तीन सय भन्दा बढी संघ संस्थाहरु छन्। धेरै जसो नाम मात्रका छन् भने केहीले देश र समाजको लागि योगदान गर्दै आएका छन्।