काठमाडौँ, ९ चैत । निजामती कर्मचारी संयन्त्रमा ट्रेड युनियनको कारण अनुशासनहीनता र अराजकता मौलाएकाले यथाशक्य यसलाई व्यवस्थित बनाउन नसके मुलुक नै असफल हुन सक्नेतर्फ सतर्क रहन संसद्ले सरकारलाई चेतावनी दिएको छ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा सदस्यहरुले भन्नुभयो, “निजामती सेवाभित्र टेड युनियनको हालको भूमिका क्यान्सर जस्तो भइसकेको छ ।” सो अवसरमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरुवा र पदस्थापनमा वस्तुनिष्ठ मापदण्ड बनाउन कठिन भएको, कर्मचारी सेवाग्राह र सेवा प्रवाहतर्फ उदासीन देखिएको तथा आत्मकेन्द्रित प्रवृत्ति बढ्दै गएको जानकारी गराउनुभयो ।
कर्मचारीको सरुवा र काजमा अत्यधिक दबाब रहेको र युनियन पेसागत हकहितमा भन्दा सरुवामा केन्द्रित हुने गरेको उहाँले स्वीकार गर्नुभयो । मन्त्री पण्डितले भन्नुभयो, “जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारीको समेत छिटो सरुवा हुने गरेको र अन्तरमन्त्रालय सरुवा गर्न दबाब आउने गरेको छ, कर्मचारी काम छाडेर साउन र भदौ महिनामा सरुवाका लागि लाग्ने प्रवृतिले अप्ठेरो पारेको छ ।”
निजामती सेवामा अत्यधिक राजनीतिक प्रभाव बढ्दै गएर ट्रेड युनियनको मुख्य काम सरुवा बढुवामा केन्द्रित हुन थालेको बताउँदै सांसदहरुले अब यसलाई राज्य र जनताप्रति उत्तरदायी बनाउने हो भने छिटोभन्दा छिटो आधिकारिक निर्वाचन गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उद्योगमा काम गर्ने श्रमिकको जस्तो नभएर निजामती कर्मचारी स्वयम् बुद्धिजीवी र राज्यको प्रनितिधि भएकाले मालिकसँग सौदाबाजी गर्न खोलिएका ट्रेड युनियन जस्तो भूमिका हुनै नसक्ने धारणा राख्दै सदस्यले पछिल्लो समय समग्र निजामती भनसुनमुखी हुँदै गएको बताउनुभयो । “राजनीतिक दलले निजामती सेवासँग सम्बन्धित टेड युनियनलाई भ्रातृ सङ्गठनका रुपमा लिने प्रयासले विकृति र विसङ्गति बढ्न गई स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन अस्तव्यस्त हुँदै गएको प्रमाण संवैधानिक आयोगका पदाधिकारी, विश्वाविद्यालयका उपकुलपति र मन्त्रालयका सचिवसम्म भागका आधारमा नियुक्ति हुनु हो”–उहाँहरुले भन्नुभयो ।
आवश्यकताअनुसारको दरबन्दी र दरबन्दीअनुसारको जनशक्तिको व्यवस्था गर्न नसक्नु, भनसुनका आधारमा कर्मचारीको नियुक्ति र सरुवा गरिनु तथा दण्ड र पुरस्कारको व्यवस्था गर्न नसक्नुले समेत टे«ड युनियनको गैरजिम्मेवारीपनलाई मलजल गरेको भनाइ उहाँहरुले प्रस्तुत गर्नुभयो । उहाँहरुले भन्नुभयो, “राजनीतिक नेतृत्व असल बाटामा हिँड्ने हो भने कर्मचारीलाई सही पथमा हिँड्न कर लाग्ने छ ।”
समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा भएको उक्त बैठकमा सदस्य चित्रबहादुर केसी, वृजेशकुमार गुप्ता, यज्ञ सुनुवार, हृदयराम थानी, रामेश्वर फुयाँललगायतले अहिलेको टेड युनियनको भूमिकाले सरकारलाई असफल तुल्याउने धारणा व्यक्त गर्नुभयो ।
युनियनको भूमिका क्यान्सरजस्तो : सांसद्






