अत्याधुनिक राइफल निकुञ्जबाट बरामद

काठमाडौं, ९ चैत । चितवन राष्ट्रिय निकुञ्जभित्र नेपाली सेनासँग समेत नरहेको अत्याधुनिक राइफल फेला परेको छ । साइलेन्सर जडित ‘एम सिक्सिटन ए वन’ राइफल र त्यसमा लाग्ने म्यागजिन तथा गोली निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको गस्ती टोलीले फेला पारेको हो । नेपाली सेनासँग ‘एम सिक्सिटन ए टु’ राइफल मात्रै रहेको छ । श्रीजंग गणको चप्परचुली पोस्टबाट खटिएको सैनिक टोलीले निकुञ्ज क्षेत्रभित्र पर्ने कठरा गाविसको कण्ठेश्वरी सामुदायिक वनमा ‘क्यामोफ्लाइज’ ब्यागमा बेवारिसे अवस्थामा उक्त राइफल फेला पारेको हो ।
राइफलसँगै म्याग्जिन र ४३ ओटा गोली समेत बरामद भएको सेनाले जनाएको छ । गैंडालगायतका वन्यजन्तु तस्करी गर्ने समूहले उक्त हतियार छाडेको हुनसक्ने अनुमान गरिएपनिअत्याधुनिक हतियार भेटिएको सम्बन्धमा अनुसन्धान भैरहेको सेनाले जनाएको छ ।