सिङ्गापुरमा सात दिन राष्ट्रिय शोक

सिङ्गापुर, ९ चैत । सिङ्गापुरका संस्थापक नेता एवम पूर्व प्रधानमन्त्री लि क्वान युको निधनप्रति शोक व्यक्त गर्न सिङ्गापुरको सरकारले सोमबारदेखि सात दिन शोकको घोषणा गरेको छ । उहाँका सुपुत्र एवम् सिङ्गापुरका प्रधानमन्त्री लि एचसिन लुङले एक विज्ञप्ति प्रकाशन गरी सिङ्गापुरमा सोमबारबाट लागू हुनेगरी सात दिने शोकको घोषणा गरिएको जानकारी दिनुभएको हो ।
सिङ्गापुरका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका लिलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्ने गर्छन् । ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखि नै कडा निमोनियाले ग्रस्त हुनुहुन्थ्यो । उहाँको सोमबार बिहानै सिङ्गापुरको एक अस्पतामा निधन भएको हो । उहाँको अन्त्येष्टि यही मार्च २९ मा गरिने भएको छ ।
उहाँको अन्त्येष्टि नगर्दासम्म सिङ्गापुरमा शोकको घोषणा गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री लुङले सिङ्गापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिङ्गापुर निर्माण गर्नुभएको बताउनुभएको छ । टेलिभिजनबाट दिनुभएको भावुक वक्तव्यमा उहाँले भन्नुभएको थियो वर्तमान सिङ्गापुरको निर्माणमा उहाँको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने भन्दै उहाँजस्तो विकासप्रेमी र देशभक्त नागरिक सिङ्गापुरमा पाउन गाह्रो रहेको पनि बताउनुभएको थियो ।
उहाँको शरीरलाई उहाँको गृह नगर इस्तानामा दुई दिनसम्म राखिने छ । उहाँको अन्त्येष्टि हुनुभन्दा अगाडि उहाँको निवासमा राखिने सरकारले जनाएको छ । त्यसपछि भने उहाँको शवलाई संसद् भवनमा राखिने भएको छ । उहाँको अन्त्येष्टिमा विश्वका नेताहरुको सहभागिता हुने जनाइएको छ । पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिनुभएको थियो । यस अवधिमा उहाँले प्राकृतिकस्रोतमा सम्पन्न भएपनि एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नुभएको थियो ।
नेता लि वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारुप तयार पार्ने व्यक्ति हुनुहुन्छ । हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा उहाँको विशिष्ठ योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् ।

विश्वका नेताद्वारा श्रद्धाञ्जली
उहाँको निधनप्रति विश्वका नेताहरुले दुःख व्यक्त गर्नुभएको छ । उहाँहरुले सो निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उहाँहरुले वर्तमान सिङ्गापुरको निर्माणमा नेता लिको योगदान अविस्मरणीय रहेको भन्दै आगामी पुस्ताले पनि स्मरण गर्ने उहाँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वर्गीय लि सिङ्गापुरका संस्थापक नेतामात्र नभई एसियाली मामिलाका नै एक प्रमुख योजनाकार रहेको धारणा राख्नुभयो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले लि चिनियाँ नागरिकका पुराना मित्र हुनुहुन्थ्यो भन्नुभएको छ । लिको नेतृत्वमा सिङ्गापुर र चीनको सम्बन्ध निकै राम्रो रहेको धारणा पनि उहाँले राख्नुभएको छ । राष्ट्रपति सिले वर्तमान सिङ्गापुर निर्माणका लागि उहाँले गर्नुभएको सार्थक प्रयासका कारण हाल विश्व समुदायले उहाँलाई सम्मानित नेताका रुपमा आदर गर्ने बताउनुभयो ।
त्यसैगरी मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले पनि उहाँलाई वर्तमान सिङ्गापुरको एक सच्चा निर्माताको सङ्ज्ञा दिनुभयो । उहाँको यस सार्थक योगदानलाई विशेषगरी एसियाका नेताहरुले सम्मान गर्ने उहाँले एक विज्ञप्तिमार्फत बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय लिलाई एकजना दुरदर्शी राजनेताका रुपमा विश्वले हेरेको भन्दै उहाँको निधनले एसियालाई नै ठूलो क्षति पुगेको बताउनुभयो । प्रधानमन्त्री मोदीले उहाँले एसिया र विश्वलाई नै सफलता र इमान्दारिताको पाठ सिकाउनुभएको बताउनुभयो ।