शिब भण्डारी
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले एनआरएन यूकेको अध्यक्ष (२०१९–२०२१)का लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार नटिङघममा आयोजित कार्यक्रममा मगरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपालको गुल्मी जिल्ला तम्घासमा जन्मिएका गाहा मगरले आफ्नो विद्यार्थी जीवनमा सन् १९९३ देखि १९९५ सम्म नेपालको राष्ट्रिय बक्सिङ टिममा रहेर मुलुकको नाम चिनाउने भूमिका निर्वाह गरेका छन् ।
सन् १९९६ मा ब्रिटिस आर्मीमा भर्ना भई १९९७ मा ब्रिटिस आर्मी बक्सिङ टिममा आबद्ध भई बेलायतमा रहेर पनि नेपाली (गोर्खाज्)को नाम चिनाउन योगदान दिएका छन् । गाहा मगर सन् १९९६ दखि बेलायतको ब्रिटिस आर्मीमा कार्यरत रही सन् २००८ मा अवकास लिई विभिन्न संघ संस्थामा आबद्ध भई सम्पूर्ण तन मनले आफूलाई समाजसेवामा समर्पित गरेका छन् ।
गाहा मगरले आफ्नो अवकास पश्चात सन् २००८ बाट बेलायतमा रहेका युवाहरुको बीचमा सामाजिक काम गर्दै आएका छन् । उनी हाल युवा समूह बेलायतका प्रमुख सल्लाहकार हुन् । गाहा मगर सन् २००८ बाट एनआरएनएमा आबद्ध भई प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान पुर्याउँदै आएका छन् । उनी २०१७–२०१९ अधिवेशनबाट एनआरएन यूकेको उपाध्यक्षमा निर्वाचित भई काम गर्दै आएका छन् ।
गाहा मगरले २०१७–२०१९ अधिवेशनमा प्रत्यक्ष निर्वाचित गराई उपाध्यक्षजस्तो गरिमामय पदमा रही काम गर्ने अवसर दिनुहुने मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार २०१८ मार्च ३१ मा च्यारिटी डिनर विथ बक्सिङ शो आयोजना गरेको लन्डन नेपाल न्यूज डट कमलाई जानकारी दिए । उनले युवा र अग्रजहरुबीचको दूरी घटाउन तथा युवाहरुलाई एनआरएनको महत्व बुझाउन विभिन्न अभियानहरु पनि सञ्चालन गरेका छन् ।
यसैगरी २०१८ सेप्टेम्बर १ मा समाजले अपाङ्ता भएकाहरुलाई हेर्ने नजर बदल्नका लागि तथा अपाङ्ता भएकाहरु आफैँ केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न गाहा मगरको नेतृत्वमा अपाङ्ता सहयोग साँझ सञ्चालन गरिएको थियो । त्यहाँ युद्धमा घाइते २५ जना Great war heroes disable veteran लगायत बेलायतमा रहेका धेरै कला भएका अपाङ्ग हरु र नेपालका अपाङ्ग कलाकार हरु लाइ सम्मान गरिएको थियो ।
यसैगरी १८फेब्रुअरी २०१९ मा भ्वाइस अफ नेपालका कलाकारसँग बर्मिङघममा च्यारिटी डिनर आयोजना गरिएको थियो । नेपाली संस्कृति जोगाउन र आपतकालिन सहयोगका लागि उक्त कार्यक्रम प्रभावकारी भएको थियो ।
२९ वर्षीय युवक लेख राना मगरको अल्पायुमै निधन भएको हुँदा मगरको अगुवाईमा २२ फेब्रुअरी २०१९ मा राना मगरको शव नेपाल लैजान ११७९ पाउण्ड संकलन गरी हस्तान्तरण गरिएको थियो ।
एनआरएन यूकेको हरेक कार्यक्रममा सहभागी हुँदै अध्यक्षले नोमिनेट गरेको हरेक कार्यक्रममा उनले प्रतिनिधित्व गरेका थिए ।
राज्य समन्व्य परिषद् गठन गर्नका लागि वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्डमा महत्वपूर्ण भूमिका उनले निर्वाह गरेका थिए ।
गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउन पहल गर्न गाहा मगरले नेपाल र बेलायतमा ज्ञापन पत्र बुझाउन अगुवाई गरेका थिए ।
गाहा मगरले उपाध्यक्षको कार्यकालमा च्यारिटी विभाग प्रमुख भएर संस्थाका कमीकमजोरीलाई नजिकबाट नियाल्ने अवसर पाएको भन्दै संस्थालाई विशुद्ध राजनीतिक, धार्मिक तथा जातीय संस्थाको हितका लागि सबै बेलायतबासी नेपालीलाई समेट्ने गरी नयाँ सोच, दर्शन र जोशका साथ उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।






