लण्डन । बेलायतमा प्रतिभा नक्षेत्र प्रतियोगितामा सहभागी हुन इच्छुकहरुका लागि आवेदन खुला गरिएको छ । बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा खोज्न लण्डनमा वर्षेनी गरिंदै आएको प्रतिभा नक्षेत्र यस वर्ष अगस्ट ४ मा हुने भएको छ । प्रतिभा नक्षेत्र तेस्रो संस्करण साउथ इस्ट लण्डनस्थित चाल्र्टन पार्कको खुला चौरमा आयोजना हुने भएको हो ।

प्रतिभा नक्षेत्रमा बाल तथा युवा गरी २ छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइने आयोजकले बताएका छन् ।
नेपाली संगीत, नृत्य, कला, साहित्य र चित्रकलालगायतका जुनसुकै क्षेत्रका प्रतिभाले पनि सहभागी हुन पाउने छन् । युवा विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५, ३ र २ सय पाउण्ड नगद पुरस्कार दिइनेछ । त्यस्तै, बाल विधातर्फ भने पहिलो, दोस्रो र तेस्रोलाई ३, २ र १ सय पाउण्ड नगद पुरस्कार रहेको आयोजकले जानकारी दिएका छन् ।
आयोजकले बेलायतका विभिन्न क्षेत्रमा बस्ने बालबालिका तथा युवाहरुलाई सहभागिताको लागि अपिल गरेका छन् । इच्छुक प्रतियोगीले संस्थाको वेभसाइटमा गएर क्लिक गरेर आवेदन गर्न सक्नेछन् । त्यस्तै आयोजकलाई सिधै सम्पर्क गरेर इमेलबाट फारम भरेर पनि पठाउन सकिने प्रतिभा नक्षेत्रको परिकल्पना राजेन्द्र खसले जानकारी दिए ।
कार्यक्रमस्थलमा नेपाली कला, संस्कृति र मौलिकता झल्काउने विभिन्न स्टलहरु बीच बेलायतमा हुर्किदै गरेका नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्ने कार्यक्रम आयोजना गरिएको परिकल्पनाकार खसले बताए।







