काठमाडौं, २७ पुस – नेकपा–एमालेका अध्यक्ष केपी ओलीले जाडो आगो ताप्न पाउने बताउँदै आफ्नो पुत्ला जाडो महिनामा नै दहन गर्न आग्रह गरेका छन् । ओलीले अपमानजनक भाषा प्रयोग गरेको भन्दै सद्भावना पार्टीका नेताहरुले आफ्नो पुत्लादहन गरेको तर्फ व्यंग्य गर्दै उनले भने, ‘विखण्डकारीहरुले मेरो पुत्ला जलाउनु छ भने जाडोमा नै जलाउ । जाडोमा आगो ताप्न त पाइन्छ । गर्मीमा जलाएर काम छैन ।’
काठमाडौंको भृकुटीमण्डपमा २९३ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता ओलीले आफ्नो पुत्ला जलाउनुको कुनै औचित्य नभएको दाबी गरेका छन् ।
ओलीले ठट्यौली पारामा आफू चियापानमा चिया पिउन आएको भन्दै आफूलाई राजनीतिक कुरा नसोध्न भन्दै पत्रकारहरुलाई राजनीतिक कुरा नसोध्न आग्रह गर्न समेत भ्याएका थिए ।
अध्यक्ष ओलीले आफू सहमति जुटाउन बाधा नभएको पनि स्पष्ट पारेका छन् । ‘म बैठकमा कहिलेकाँही रिसाउँछु । त्यो सत्य हो । तर, त्यो रिस नेपालको हितको लागि हो । सहमति भाँड्न होइन,’ ओलीले भने ।
मधेशवादी दलतर्फ इंगित गर्दै ओलीले धम्काउन पल्केकाहरु आफै बैठक छाडेर हिँडेको प्रतिक्रिया दिए । ‘सहमति भनेको जायज कुरामा हुन्छ, नाजायज कुरामा सहमति हुन सक्दैन,’ उनको भनाई थियो ।
यही २९ गते भित्र सहमति नभए प्रक्रियाबाट अघि बढ्ने संकेत गर्दै ओलीले भने, ‘संविधानसभाको बैठक शुरु गर्ने र त्यहाँ जे निर्णय हुन्छ, त्यही लागु हुनेछ ।’
राप्रपाको चियापानमा चिया नै भएन
आजको चियापानमा समयमा चिया नै नआएपछि निमन्त्रणा गरिएका पाहुनाहरु अलमलमा परेका छन् । कार्यक्रममा समयमा उपस्थित भएका सभामुख सुवास नेम्बाङ चियाको लागि २० मिनेटसम्म पर्खनुपरेको थियो । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधव नेपाललगायत शीर्ष नेताहरु सहभागी हुनेछन् ।






